१२ चैत, मुस्ताङ
उपल्लो मुस्ताङका विभिन्न ३ स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँचितुवाको अनुगमन सुरू भएको छ ।
मानव र हिउँचितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडा आसपासमा २ र लोमान्थाङ बजारमाथिको क्षेत्रमा एउटा क्यामेरा जडान गरिएको छ ।
कुन–कुन स्थानमा कतिको संख्यामा हिउँ चितुवा छन् यकिन गर्न कार्यालयले क्यामेरा ट्यापिङबाट अनुगमन थालेको हो । हिउँ चितुवाले बर्सेनि दुःख दिइरहेको गुनासो आइरहेकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नेगरी अनुगमन गरेको हो ।
एक्याप लोमान्थाङ प्रमुख पौडेलले संरक्षित हिउँ चितुवा र अन्य वन्यजन्तुको संरक्षण गर्ने दायित्व एक्यापको भएकाले यसका लागि मानव र स्थानीयको पशुधनको रक्षाका लागि अध्ययन सुरू गरेको उल्लेख गरे । पारस्थितिक प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने ‘हिमालकी रानी’ हिउँ चितुवासँग यहाँको धार्मिक, सांस्कृतिक सम्बन्ध जोडिएको छ ।
स्थानीयले सदियौँदेखि अपनाउँदै आइरहेको पशुपालन व्यवसायलाई दिगो रूपमा एकैसाथ अघि बढाउन हिउँ चितुवा व्यवस्थापनका नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बेला आएको पौडेलले बताए । यसअघि एक्यापले घरपझोङ गाउँपालिका र वारागुङ क्षेत्रका यारूझो भ्युटावर, नमुखलेक, वारागुङ मुक्तिक्षेत्रको साङ्ता, तिरी र कागबेनीका साथै उपल्लो मुस्ताङमा ३१ वटा क्यामेरा जडान हिउँ चितुवाको अनुगमन एवं सर्वेक्षण गरेको थियो ।
मुस्ताङमा हिउँ चितुवाका गतिविधि समीक्षा गर्ने तथा जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, यो दुर्लव जीवको आहारा एवं आनीबानीको विज्ञहरुले विश्लेषण गर्ने जनाएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँस अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर वस्ती र पाखोमा झर्न थालेका छन् । हिउँ चितुवा नाउरलाई पछ्याउदै मानवबस्तीसम्म पुग्ने गरेका विज्ञहरूले बताएका छन् ।
रासस