२९ माघ, काठमाडौं
सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६२औँ बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधान सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफलका क्रममा उनीहरूले वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्ने बताए ।
समिति सभापति मायाप्रसाद शर्माले आवश्यकताका आधारमा मात्रै निकुञ्जमा पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे । ‘विकासको नाममा संरक्षण क्षेत्र विनाश हुने किसिमले नीतिगत व्यवस्था लागू गर्नुहुँदैन । संरक्षण गर्ने भनेर मात्र पनि हुँदैन । विकास आजको आवश्यकता हो’, उनले भने, ‘विकास र वातावरणलाई सन्तुलन गरेर अघि बढ्नुपर्छ ।’
सांसद मदनकुमारी शाहले संरक्षण क्षेत्रभित्र वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी नीति कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताइन् । सांसद रेनु चन्दले निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु आवतजावतलाई सहज बनाउन ‘अन्डरपास’ र ‘ओभरपास’का लागि पूर्वाधार निर्माणको खाँचो औल्याइन् ।
सांसदहरू नरबहादुर विष्ट, श्रीकृष्णप्रसाद अधिकारी, युवराज शर्मा, सुमित्रा विसी, गोमादेवी तिमल्सेना, रूक्मिणी कोइराला, बलदेव बोहोरा, पदमबहादुर परियारले निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरणमैत्री हुनुपर्नेमा जोड दिए ।
रासस