२० मंसिर, काठमाडौं
विगत ७ महिनाको अवधिमा नेपालमा पक्षीका ३ प्रजाति थपिएका छन् । माथिल्लो मुस्ताङमा एकपछि अर्को नयाँ पक्षी भेटिएसँगै नेपालमा पक्षीका ८ सय ९७ प्रजातिको आधिकारिक अभिलेख भएको छ ।
फुस्स्रो सारौं (वाइट चेक्ड स्टारलिङ), तालुधस्रे अर्जुनक (स्पटेड फ्लाइक्याचर) र गेरू मुहार चाँचर (नौम्यान्स थ्रस) नेपालका लागि नयाँ पक्षी हुन् । माथिल्लो मुस्ताङको ३ हजार १ सय मिटर उचाइमा फेला परेको ‘गेरू मुहार चाँचर’लाई नेपाल पक्षीविद् संघको नेपाल बर्ड रेकर्ड कमिटिले गत साता नेपालका लागि नयाँ पुष्टि गरेसँगै पक्षीका ८ सय ९७ प्रजाति अभिलेख भएका छन् ।
चरा विज्ञ (पक्षीबारेका नागरिक वैज्ञानिक) शंकर तिवारीले अन्नपूर्ण संरक्षण क्षेत्रको चैले गाउँको स्याउ बगैंचामा कैद गरेको ‘गेरू मुहार चाँचर’को तस्बिर र अन्य तथ्यलाई कमिटिले विभिन्न चरणमा अनुसन्धान गरेपछि नयाँ पक्षीको संख्या थपिएको हो । अंग्रेजीमा ‘नौम्यान्स थ्रस’ भनिने उक्त पक्षीको तस्बिर तिवारीले गत १८ वैशाखमा बिहान ६ बजेर ३९ मिनेटमा खिचेका थिए ।
सो पक्षी भेटिएको भौगोलिक अवस्था र तस्बिरसहितको विवरण उनले नेपालका लागि नयाँ हुनसक्ने ठहर गर्दै गत कात्तिक २५ गते कमिटिलाई उपलब्ध गराएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अधिकारीहरू राष्ट्रिय/अन्तर्राष्ट्रिय पक्षी अनुसन्धाता र विज्ञहरूसँग तस्बिर र अन्य तथ्य परीक्षण गर्दा ‘गेरू मुहार चाचर’ नेपालका लागि नयाँ र पक्षीहरूको सूचीमा पछिल्लो अभिलेख भएको संघका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए ।
यो पक्षीको मुहार र तल्लो भागमा गेरू रङ रहेकाले यसको नेपाली नाम ‘गेरू मुहार चाँचर’ राखिएको उनले प्रष्ट्याए । सो पक्षीको अभिलेखसँगै नेपालमा पाइने चाँचरका विभिन्न २० प्रजाति पुगेका छन् ।
रूसमा आवासीय रूपमा पाइने, आफ्नै थातथलोमा बच्चा कोरल्ने यो चरा चीन, जापान, मंगोलिया, कोरिया र ताइवानमा नियमित पाइन्छ । बसाइँसराइका क्रममा मंगोलिया र आसपासको बाटो हुँदै आवतजावत गर्छ । ‘नौम्यान्स थ्रस’ बेलायत, फ्रान्स, नर्वे, स्विडेन र फिनल्यान्डलगायत एसियाली र मध्यपूर्वका अन्य केही देशहरूमा ‘फिरन्ते चरा’का रूपमा चिनिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रको चैले गाउँमा देखिएको सो पक्षी तिवारीलाई सुरूका केही महिनासम्म नेपालमा पाइने चटक चाँचरजस्तै लागेको थियो । दोहोर्याएर तस्बिर नियाल्दा नेपालमा यसअघि नदेखिएको ठानेपछि उनले ढिलै गरी (गत कात्तिकमा) विज्ञहरूसँग तस्बिर र अन्य तथ्य उपलब्ध गराउँदै जिज्ञासा राखेका थिए ।
सुरूका केही महिनासम्म चाचरकै अन्य प्रजाति (नेपालमा प्राय देखिने/भेटिने)को अर्ध वयस्कको अवस्था हुनसक्ने अनुमान गर्दा ढिलै गरी विज्ञहरू समक्ष जानकारी पुगेको तिवारीले बताए । ‘पटक–पटक फोटो हेर्दा केही फरक हुनुपर्छ जस्तो लाग्यो, जापान र चीनतिरका चराको रूप रङसँग मिल्दो लाग्यो अनि विज्ञहरूलाई सोधपुछ गर्न थाले’, उनले भने, ‘विभिन्न तथ्य केलाउँदा नेपालका लागि नयाँ रहेछ, निकै खुसी लाग्यो ।’
चितवनका उनी साढे ३ दशकयता पक्षीका प्रजाति र तीनको विचरण क्षेत्र र अन्य आनीबानीसँग घुलमिल छन् । यसअघि तिवारीले गत २५ वैशाखमा लोमान्थाङको ३ हजार ८ सय ४० मिटरको उचाइमा फुस्स्रो सारौं भेटेका थिए । अंग्रेजीमा ‘वाइट चेक्ड स्टारलिङ’ र ‘ग्रे स्टारलिङ’ भनिने फुस्स्रो सारौं पनि नेपालका लागि पहिलो अभिलेख भएको बर्ड रेकर्ड कमिटिको ठहर छ ।
त्यसैगरी, तिवारी र पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठले गत २ साउनमा मुस्ताङको समरस्थित ३ हजार ६ सय ५० मिटर उचाइमा भेटेको तालुधस्रे अर्जुनक (स्पटेड फ्लाइक्याचर) पनि नेपालका लागि नयाँ हो ।
मुस्ताङमा एकपछि अर्को पक्षीको प्रजाति देखिनु/भेटिनु पक्षी पर्यटन र अनुसन्धाताका लागि उत्साह थप्ने पाटो भएको बताउँदै तिवारी भन्छन्, ‘यस्ता तथ्यले पक्कै पनि वन्यजन्तु पर्यटनको दायरा फराकिलो बनाउने छ ।’ मुस्ताङ लगायतका क्षेत्रमा यसअघि नियमित पक्षी अवलोकन र यो विषयबारेको अनुसन्धान नभएकाले छोटो अवधिमा नयाँ–नयाँ प्रजाति देखिएका हुनसक्ने उनको ठहर छ ।
अनुसन्धाताहरूले चराका प्रजातिलाई रैथाने, नियमित आगन्तुक, बटुवा र फिरन्ते सूचीमा सामेल गरेका छन् । आक्कल झुक्कलमात्रै देखिने फिरन्ते र एक देशहुँदै अर्को देशतर्फ बसाइँ सराइँ गर्ने बटुवा सूचीका हुन् ।
यो वर्ष मुस्ताङमा भेटिएका तीनै प्रजातिलाई ‘फिरन्ते सूची’मा सामेल गरिएको पक्षीविद् संघका अध्यक्ष डा. सुवेदीले जानकारी दिए । ‘यस वर्ष भेटिएका पक्षीहरू पहिला नेपालका लागि रेकर्ड नभएकाले फिरन्ते सूचीमा राखिएको छ, अब अन्य ठाउँमा पनि देखियो भने नियमित आगन्तुकको सूचीमा राख्न सकिन्छ’, उनले भने ।