Thursday, October 24, 2024

तालमा पानी सुक्यो, पर्यटक पनि घटे

पाल्पा – खडेरीसँगै रामपुरको तालपोखरामा पानी सुक्दै गएपछि डुंगा सञ्चालन बन्द गरिएको छ ।

डुंगा सञ्चालनकै कारण तालपोखरा क्षेत्रमा भरिभराउ हुने पर्यटक हिजोआज डुंगा सञ्चालन बन्द भएपछि यो क्षेत्र सुनसान बनेको छ । कृत्रिम ताललाई विकास गरेर फेवातालको झल्को दिने तालपोखरामा सञ्चालन हुँदै आएको डुंगा पानीको अभावमा बन्द गरिएको हो । रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको तालपोखरामा डुंगा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको थियो

दिनहुँ सयौँको संख्यामा तालपोखरामा डुंगा सयर गर्नेको चहलपहल बढेको थियो । अहिले पानीको अभावमा डुंगा सञ्चालन कार्य बन्द गरिएको छ । यहाँ स्थानीय कुला, नहरको पानीबाट डुंगा सुचारु गरिएको हो ।

पर्यटकको चापले कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालनमा थप सुविधा पुगेको थियो । विद्युत् आपूर्ति क्षमता कम भएका कारणले तालपोखरालाई आवश्यक पर्ने पानी लिफ्टिङ प्रणालीबाट ल्याउन समस्या परेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सुनिल देवकोटाले बताए ।

लिफ्टिङबाट पानी सानो आयो, खडेरीका कारण स्थानिय कुला नहरमा पानी सुक्दै जाँदा आवश्यकताअनुसार पानी पु¥याउन गाह्रो भएको देवकोटाले बताए । ‘अहिले तालपोखरा वरपरको क्षेत्रमा भौतिक पूर्वाधार विकासका काम भइरहेका छन्न्, नगरपालिकाले पनि बजेट उपलब्ध गराएको छ, अब छिट्टै नै विद्युत्को भोल्टेज बढाएर कालीगण्डकीबाट लिफ्टिङ गरेर डुंगा चलाउने छौँ’ उनले भने ।

तालपोखरामा डुंगा सञ्चालनमा ल्याएपछि डुंगामा चढेर तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजा गर्ने, घुम्ने र फर्कनेको निकै उत्साह थियो । अहिले पानीको अभावमा तालपोखरामा डुंगा सञ्चालन बन्द हुँदा सबैको चिन्ताको विषय बनेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार