७ भदौ, नेपालगञ्ज
प्राकृतिक सिमसार क्षेत्र नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान संकटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउँदा चराको बासस्थान संकटमा परेको संरक्षणकर्मीले बताएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रुपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान हो । मोटरबोट चलाउदा चरा संकटमा पर्ने ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए ।
सो स्थानमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन् । पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एशोसिएसनको विज्ञ टोलीले डेढ घण्टासम्म अनुगमन गर्दा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको बासस्थान रहेको तालमा ३ प्रजातिका कमलका फूल फेला परेको उल्लेख छ ।
‘यसलाई जैविक विविधता र बर्ड पार्कका रूपमा विकास गर्नुपर्छ’, संरक्षणकर्मी चौधरीले भने । मोटरबोट चल्दा त्यसले पर्यावरणमा नोक्सानी हुने औँल्याउँदै उनले कान्तिताल चराको आहाराको स्रोत भएको बताए । ‘तालमा चराको प्राकृतिक आवास भएकाले त्यहाँ धेरै चरा रमाउँछन्’, उनले भने ।
इन्धनबाट चल्ने मोटरबोटले चराको प्राकृतिक बासस्थान नष्ट हुने उल्लेख गर्दै चौधरीले ‘प्राकृतिक सिमसारमा मोटरबोट चलाउन लागेको कुराले आफूलाई चिन्तित बनाएको बताए । ‘यसले तालबाट आश्रित दुर्लभ चराको प्राकृतिक बासस्थान स्वतः नष्ट हुने निश्चित छ’, उनले भने ।
मोटरबोट चलाउन अनुमति दिने नेपालगञ्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको चौधरी लगायतका संरक्षणकर्मीको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकाले ३ वर्षअघि १० वर्षका लागि स्थानीय ठेकेदारलाई मोटरबोट चलाउन ठेक्का दिएको थियो ।
उक्त तालमा हरेक वर्ष चरा गणना हुँदै आएको छ । २ वर्षअघिको गणनाअनुसार यहाँ २५ प्रजातिका चरा फेला परेका थिए । दोस्रो वर्ष २२ प्रजातिका चरा फेला परेका छन् । आगामी हिउँदमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ ।
तालमा दुर्लभ पक्षी सारस, अन्य परम्परागत चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट)लगायतको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया, इण्डोनेसियाबाट आएका चराले बासस्थान बनाउँछन् भने जाडोयाममा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन् ।
बसाइँ सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा कोरल्छन् । सारसले पनि कान्तिताललाई प्रजननस्थल बनाउँदै आएको छ । ‘सारसको प्रजननस्थल पनि हो कान्तिताल’, अध्यक्ष चौधरीले भने, ‘ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो बासस्थान मानिन्छ ।’ उनका अनुसार सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्तिताल र मानखोला रहेको छ । तर यीमध्ये सबैभन्दा राम्रो बासस्थान सो ताल रहेको बताइएको छ । यस स्थानमा विभिन्न जलचर र वनस्पति छन् ।
रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा सारस पाइन्छन् । यसअघि गणना गर्दा बाँकेमा ३३ वटा सारस फेला परेका थिए । पक्षीविद् रामबहादुर शाहीले प्राकृतिक सिमसारमध्ये कान्तिताल सबैभन्दा राम्रो सिमसार क्षेत्र भएको उल्लेख गर्दै सरकारले संरक्षित सूचीमा राखेको चरा सारस प्रत्यक्ष देखिएको बताए ।
अफ्रिकाबाट आएको जुरे कोइली पनि सो तालमा रहेको जानकारी दिँदै उनले अन्य सयौँ स्थानका स्थानीय प्रजातिका चराको पनि बासस्थान उक्त ताल भएको बताए । नेपालगञ्जका अभियन्ता डा. विनोद कर्णले तालमा मोटरबोट चलाउने प्रयास घातक हुने उल्लेख गर्दै भने, ‘अनुरोध गर्दागर्दै पनि मोटर बोट चलाउन खोजियो भने त्यो राम्रो हुँदैन ।’
रासस