६ भदौ, मकवानपुर
सामान्यतया बाघ र भैंसीको लडाइँमा भैंसी कमजोर हुन्छ । तर, मकवानपुरको मनहरीमा भने भैंसी बलियो बनेको छ ।
आफूलाई आक्रमण गरेको बाघलाई भैंसीले प्रतिकार गर्दा बाघ मरेको छ । आज विहान (बिहीबार विहान) मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको भैंसीले वयस्क बाघलाई मारेको हो । गोठमा रहेको भैंसीलाई बाघले आक्रमण गरेपछि भैंसीले प्रतिकार गर्दा बाघ गोठमै मृत भेटिएको हो ।
विहान ३ बजे आसपासमा बाघले आक्रमण गरेको थाहा पाए लगत्तै छरछिमेकीसहित गोठमा जाँदा बाघ मृत भेटिएको थियो । भैंसीले सिङले हान्दै कुल्चिँदा बाघ मरेको हुनसक्ने प्रहरीले जनाएको छ । बाघ बुढो भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भैंसीको गर्धन र शरीरका विभिन्न भागमा चोट लागे पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्छ । मृत बाघको पोष्टमाटम पश्चात घटनाको विस्तृत अनुसन्धान गरिने चितवन निकुञ्जले जनाएको छ । मृत बाघलाई पोष्टमाटमका लागि चितवन निकुञ्ज लगिएको छ ।