Tuesday, September 17, 2024

रेडपाण्डा संरक्षणमा २ करोड रुपैयाँ खर्च गरिँदै

५ भदौ, ताप्लेजुङ
संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै २ करोड रुपैयाँ खर्चने योजना बनाएको छ । रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो ।

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपाण्डा नेटवर्कको सहयोगमा ४१ कार्यक्रम सञ्चालन गर्न १ करोड ९२ लाख ५५ हजार ८३३ रुपैयाँको बजेट विनियोजन गरिएको छ । यस बजेटले कर्मचारीको तलब, कार्यालय सञ्चालन, अनुसन्धान तथा अनुगमन, शिक्षा र जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवर्द्धनजस्ता शीर्षकमा खर्च गरिनेछ ।

हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका लगायतका क्षेत्रमा रेडपाण्डा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रेडपाण्डाको संरक्षणका लागि मञ्चले वन अभिभावकको पुनर्ताजकी तालिम, अनुगमन ब्लकको पुनःरेखांकन, नियमित अनुगमन, सामुदायिक वनमा चोरी–सिकारी तथा चोरी–निकासीको अनुगमन, आवश्यक उपकरण खरिद र रेडपाण्डा बुलेटिन प्रकाशन जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने राईले बताए ।

मञ्चले प्रमुख रेडपाण्डा बासस्थान भएका क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने योजना बनाएको छ । यसैगरी रेडपाण्डा संरक्षण पुरस्कार वितरण, सचेतना बोर्डको स्थापना, वृत्तचित्र निर्माण, पोस्टर र पम्प्लेट छपाइ तथा रेडपाण्डाको आहारका बिरुवा उत्पादन गर्न नर्सरी निर्माणजस्ता कार्य पनि गर्न लागिएको छ । विसं २०७० मा भएको एक सर्भेअनुसार ताप्लेजुङमा १ सय ३४ रेडपाण्डा रहेको तथ्यांक हिमाली संरक्षण मञ्चसँग छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार