२८ साउन, चितवन
हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो ।
उपचार थालिएको ४ वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधि र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताए ।
‘विगतमा क्षयरोगले हात्तीहरू भटाभट मर्न थालेपछि चिन्ता थियो, अहिले कुनै पनि हात्तीमा क्षयरोगका लक्षण देखिएको छैन’, उनले भने । चितवनमा अहिलेसम्म ६७ वटा हात्तीलाई टिबीको औषधि खुवाएर निको पारिएको पनि उनले जनाए । २०६७ सालमा टिबी भएरै औषधि खुवाइएको बहादुर गज अहिले सौराहामा नियमित निकुञ्ज सुरक्षाका लागि गस्तीमा परिचालित छ ।
यस्तै मेनका कली अहिले पर्सा राष्ट्रिय निकुञ्जको गडुवालाइन पोस्टमा छ । उसलाई पनि २०६८ मा टिबीकै उपचार गरिएको हो । टिबीको उपचार गरिएकामध्ये अहिलेसम्म २ हात्तीको मृत्यु भएको छ तर दुवैको पोस्टमार्टममा क्षयरोगको कुनै पनि लक्षण देखिएन । ‘पछिल्लो पटक निकुञ्जमा मरेको भोलाप्रसाद टिबीकै उपचार गरेको हात्ती हो । उपचारको लामो समयपछि मरेको यो हात्तीको पोस्टमार्टम गर्दा कुनै पनि क्षयरोगको लक्षण देखिएन’, हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरन चौधरीले भने ।
हात्तीलाई एक वर्षसम्म नियमित औषधि खुवाइएपछि मात्रै क्षयरोगबाट मुक्त हुने गरेका छन् । डा. श्रेष्ठका अनुसार क्षयरोग सङ्क्रमित हात्तीलाई एथेमब्युटोल, रिफ्यामपिसिन र आइसोनाइजिट औषधि खुवाइएको हो । यी औषधि मानिसका लागि पनि प्रयोग गरिन्छन् । ‘यो औषधि मानिसभन्दा हात्तीलाई चालिस गुणा बढी दिनु पर्छ’, उनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाले भने, ‘हात्तीको तौल हेरेर मान्छेलाई भन्दा चालिस गुणाभन्दा बढी औषधी खुवाएपछि मात्रै हात्तीलाई टिबी निको गराउन सकिएको हो’, उनले भने । तौल ४ हजार किलोग्रामसम्म हुने भएकाले एउटा हात्तीलाई १५० देखि २०० मात्रासम्म औषधि दिनुपरेको स्मरण श्रेष्ठले गरे ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष (आइयुसिएन)ले खतराको सूचीमा राखेको वन्यजन्तु एसियाली हात्ती नेपालसहित छिमेकी केही देशमा मात्रै पाइन्छ । सन् २०२० सम्म चितवनमा कम्तीमा १५ वटा हात्ती क्षयरोगका कारण मरेका थिए । हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मनिपुरन चौधरीका अनुसार त्यसरी मर्न थालेपछि लक्षणका आधारमा हात्तीमा टिबी परीक्षण गरिएको थियो ।
‘राजा महेन्द्र हुन् वा वीरेन्द्र चितवन सफारी हुँदा दुवैले जङ्गल सफारीका लागि रोज्ने हात्ती पशुपति कली थियो । त्यही नै टिबीका कारण पहिलो पटक २०६५ सालमा मरेको थियो’, उनले भने । टिबीका जीवाणुले फोक्सो हुँदै मस्तिष्क र करङमा समेत असर गर्ने चिकित्सक बताउँछन् । समयमा उपचार नपाए ज्यानसमेत लिन्छ । यो रोग लागेका मानिसमा जस्तै हात्तीमा पनि लामो समय खोकी लागि रहने, राति हल्का ज्वरो आउने, अत्यधिक थकाइ लाग्ने, राति पसिना आउने, जाडो धेरै हुने, धेरै भोक लाग्ने आदि लक्षण देखिन्छ ।
टिबीको माइक्रो ब्याक्टिरियम ट्युबरक्लोसिस जीवाणु खोक्दा वा हाच्छुँ गर्दा हावाबाट दोस्रोमा सर्छ । नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौला हात्तीका लागि क्षयरोगको परीक्षण गारो विषय भएको बताउँछन् । हात्तीको छाला बाक्लो हुने भएकाले फोक्सोको एक्सरे गर्न नसकिए पनि ¥यालको परीक्षणबाट टिबी पहिचान गरिने उनले जनाए ।
‘सामान्य परीक्षण त चितवनमै गरिन्छ तर कल्चर नै गर्नुपर्दा हामी काठमाडौँमा मानिसकै टिबी परीक्षण गर्ने ल्याबमा पठाउँछौँ’, उनले भने । हात्तीको सुँढको टुप्पादेखि छाती अर्थात् फोक्सोसम्मको भाग लामो हुने भएकाले पनि एक्सरे गर्न गारो हुने बताइन्छ ।
हात्तीलाई औषधि खुवाउन पनि सजिलो छैन । जानकारहरूका अनुसार भेली, कुचीलगायतका खाद्यान्नमा मिसाएर मुखबाट खुवाउने, नसके पानीमा घोलेर मलद्वारबाट पाइप लगाएर पठाइने जानकारी दिन्छन् । मुखबाट खाए जस्तो प्रभावकारी मलद्वारबाट दिएको नहुने चिकित्सकहरू बताउँछन् ।
नेपालमा निकुञ्ज तथा संरक्षित क्षेत्रसँग १ सय ७ र निजी क्षेत्रसँग ५० वटा हात्ती छन् । जसमध्ये चितवनमा निकुञ्जमा ५५ वटा र निजी क्षेत्रसँग ४० वटा हात्ती छन् । यसका अलवा नेपालमा झन्डै २ सय जङ्गली हात्ती रहेकामा चितवनमा ५५ देखि ६० रहेको निकुञ्जले जनाएको छ ।
गोरखापत्र दैनिक