Thursday, September 19, 2024

भारी वर्षाले डुवानमा उपत्यका

१६ साउन, काठमाडौं
मंगलबार राति (१५ साउन) देखिको भारी वर्षाले काठमाडौं उपत्यका विभिन्न भेग जलमग्न भएका छन् ।

वाग्मती किनारा आसपासका बल्खु, थापाथली, बबरमहल, ललितपुरको च्यासल, यूएन पार्क र आसपासका भेगका बस्ती, सडक तथा सार्वजनिकस्थलमा बाढी पसेपछि जनजिवन प्रभावित बनेको छ । आज विहान सबेरै वर्षा रोकिए पनि वाग्मती र वाग्मतीका सहायक नदीहरूमा जल सतह नघटेपछि जनजिवन मध्य दिउँसोसम्म पनि सहज बनेको छैन ।

काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र बुधबार विहान अवरेसम्म पनि डुबान प-यो । काठमाडौंको फुटुङस्थित नागपोखरीमा पहिरो खस्दा एउटा घरमा क्षति भएको छ । गोंगबुको नयाँ बसपार्क, मितेरी पुल क्षेत्र र आसपासका भेग पनि डुबानमा परेका छन् ।

काठमाडौंको कुलेश्वर र बल्खुबाट ११ जना तथा नयाँ बसपार्कबाट एकजनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ललितपुरको युएन पार्क क्षेत्रबाट २ जना, सुन्दरीघाटबाट ८, बालकुमारी पुलमुनिबाट १, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।

मध्य रातदेखि नै भक्तपुरको हनुमन्ते र अन्य स–साना खोलाको बाढी वस्ती पसेपछि ७० भन्दा बढी घर प्रत्यक्ष प्रभावित बने । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्र बाढीको प्रत्यक्ष परेको छ ।

पसल, विद्यालय, कलकारखाना डुवानमा पर्दा लाखौं रूपैयाँको क्षति भएको छ । बालकोट, सिरुटारतर्फका घर र वस्ती पनि प्रभावित बनेका छन् । डुवान प्रभावित क्षेत्रका विद्यालय बन्द छन् । यी क्षेत्रका बाढी डुवान प्रभावित बासिन्दालाई मध्यरातिदेखि नै उद्धार गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

२४ घण्टाको अवधिमा काठमाडौंको धापपड्याम क्षेत्रमा अति भारी वर्षा भएको छ । सो क्षेत्रमा १०८ मिलिमिटर वर्षा मापन भएको मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी बुढानीलकण्ठमा क्षेत्रमा ९० मिलिमिटर भक्तपुरको नगरकोटमा ८३.२, ललितपुरको गोदावरीमा ७६.४ काठमाडौंको कपनमा ७४ मिलिमिटर वर्षा भएको महाशाखाको अभिलेख छ ।

ललितपुरको टिकाथलीमा ६७.४ मिलिमिटर, काठमाडौंको कीर्तिपुरमा ६५, बबरमहलमा ६२.२, नैकापमा ६१.४ र सुन्दरीजलमा ६०.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद्हरू २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथिको वर्षालाई ‘भारी वर्षा’ मान्ने गर्छन् । १ सय मिलिमिटरभन्दा माथिको वर्षालाई ‘अति भारी’का रूपमा बुझ्ने गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार