Saturday, October 19, 2024

‘देशको क्षमताअनुसार बाघको संख्या वृद्धि गर्नुपर्छ’

१४ साउन, ललितपुर
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको संख्या वृद्धि गर्नुपर्ने बताएका छन् । नेपालको जंगल र क्षेत्रफलको हिसाबले धेरै वृद्धि हुनेगरी बाघको संरक्षण गर्न नसकिने उनको भनाइ छ ।

विश्व बाघ दिवसका अवसरमा ‘बालबालिकासँग बाघ संवाद’ गर्दै उनले अन्धाधुन्ध बाघको संख्या वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि सचेत हुनुपर्ने धारणा राखे । देशको क्षमताभन्दा बढी बाघको संख्या वृद्धि गर्न नसकिने प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु छन्, उनीहरूका लागि सहज बासस्थान चाहिन्छ । उनीहरूसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन । मानिसले सचेत भएर द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ ।’ काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीले प्रकृति र बाघ संरक्षणबारे सोधेका प्रश्नमा ओलीले यस्तो बताएका हुन् ।

हालको सदर चिडियाखाना सानो भएकाले अन्य स्थानमा बाघ र वन्यजन्तुको व्यवस्थापन गर्नुपर्ने खाँचो औल्याएका उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा भक्तपुरको सूर्यविनायकमा निर्माण सुरु भएको प्राणी उद्यानको कार्य अगाडि बढाउने प्रतिबद्धता जनाए ।

२ वर्षको राष्ट्रिय गणना अनुसार नेपालमा वयस्क बाघको संख्या ३ सय ५५ छ । १२ वर्षको अवधिमा नेपालमा बाघको संख्या झण्डै तेब्बर वृद्धि भएको छ । सन् २०१०मा रुसको सेन्ट पिटर्सबर्गमा नेपालसहित प्राकृतिक वातावरणमा बाघ पाइने १३ देशले १ दशकभित्र आफ्ना देशमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । त्यसबेला नेपालमा बाघको संख्या १ सय २१ मात्रै थियो ।

चितवन निकुञ्ज, बाँके, बर्दिया, शुक्लाफाँटा र पर्सा निकुञ्जसहित आसपासका भेगमा बाघको नियमित उपस्थिति पाइएको छ । मानव वन्यजन्तु द्वन्द्व घटाउन नेपालले विभिन्न देशलाई बाघ उपहार दिन सक्ने, समस्याग्रस्त बाघको यथोचित व्यवस्थापन, पर्यापर्यटन विस्तार गर्न बाघको बासस्थान तथा आहरा प्रजाति वृद्धि गर्नुपर्नेमा कार्यक्रमका अन्य वक्ताले जोड दिए ।

ताजा समाचार

सम्बन्धित समाचार