Saturday, October 19, 2024

मुहान सुकेपछि पानी लिन अर्को जिल्ला

१३ साउन, जाजरकोट
भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउने गरिएको छ ।

गत वर्ष कात्तिक १७ गते राति गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि यस्तो समस्या आएको हो । करिब ५ किलोमिटर टाढा भेरी नगरपालिका–१, पिपेखोला गैरी खेतको मुहानको पानी खाएका ३ सय २५ घरपरिवार धारामा पानी आउन छाडेपछि रुकुमपश्चिम सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट गाग्रीमा बोकेर खानेपानीको जोहो गर्दै आएका छन् ।

भेरी नगरपालिका–१, रिम्नाका गगन रानाका अनुसार भूकम्पले गाउँबस्तीमा पानीको मुहान सुकेपछि अहिले खानेपानीको दुःख हुन थालेको छ । गाउँबस्तीमा लामो समयदेखि पानीको हाहाकार भए पनि सरोकारवाला निकायले चासो नदिएकाले रुकुमपश्चिमबाट पानी ल्याएर गुजारा चलाएको रानाले बताए ।

भेरी नगरपालिका–१, रिम्नास्थित दिलमाया रानाले गाउँबस्तीका धारामा पानी आउन छाडेको करिब ९ महिना भएको बताइन् । खानेपानीको व्यवस्थाका लागि कहीँकतैबाट पहल नभएको उनको गुनासो छ । सोही ठाउँको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने भावना रानाका अनुसार गाउँबस्तीका धारामा आउने पानीका मुहान सुकेपछि बालबालिकालाई समेत समस्या थपिएको छ ।

घरआँगनमा आउने पानीका धारामा पानी आउन छाडेपछि २ घण्टा हिँडेर भेरी नदीपारि रुकुमको सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट झोलुङ्गे पुलनजिकबाट ल्याउनुपर्दा कहिलेकाहीँ बालबालिकाले समेत पानी बोक्न जानुपर्ने भएको भावनाले बताइन् । बर्खाको समयमा गाउँमा पानी नै नभएपछि विद्यालयको पढाइ छोड्नु पर्ने अवस्था आएको छ ।

बर्खाको समयमा पानीका मुहान फुटेर झन् ठुलो पानी आउनुपर्ने बेला पानीको हाहाकार भएको छ । भेरी त्रिवेणी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत जानुका रानाले भनिन्, ‘नजिक पानी नहुँदा पढ्ने समयमा खानेपानी जोहो गर्न कुद्नु पर्छ । विद्यालयमा छुट्टी भएपछि घरमा गृहकार्य गर्ने समयमा पानी ल्याउनुपर्ने बाध्यता छ ।’

पानी नल्याउँदा घरपरिवारका सबैलाई गाह्रो हुने बताउँँदै उनले भनिन्, ‘पानी ल्याउन जाने हो भने पढाइ छुट्छ, गृहकार्य गर्ने समय पानी ल्याउनै बित्न थालेको छ ।’ भेरी नदीको धमिलो पानी खाँदा रोगले आव्रmमण गर्छ भन्ने डरले पुलपारि गएर पानी ल्याउनुपर्ने बाध्यता छ । समय मिलाएर पढाइसँगै पानी बोक्ने गरेको कुरा यहाँका विद्यार्थीले बताउने गरेका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख मंगल शाहीका अनुसार भेरी नगरपालिका–१, रिम्नामा खानेपानी हाहाकार भएपछि गाउँबस्तीमा पानी ल्याउनका लागि हेल्भेटास नेपाल र युनिसेफसंँग सहकार्य गरेर काम सुरु गरिएको छ ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार