Friday, October 18, 2024

काठसहित तस्कर पक्राउ

साउन १०, बर्दिबास
विगत केही समयदेखि सागरनाथ वन विकास परियोजनाका जंगलमा काठ तस्कर र वनकर्मीबिचको संघर्ष बढ्दै गएको छ । काठ तस्करको संगठित गिरोहका कारण रातको समयमा पनि वन क्षेत्र अशान्त हुँदै गएको छ ।

गिरोह र वनकर्मीबिच झडप र घम्साघम्सीका घटना पनि बढिरहेकाले वन संरक्षणमा अनेकन् समस्या र चुनौती थपिएको वनकर्मीले जनाएका छन् । मंगलबार मध्यराति (८ साउनमा) गौशाला–१२, लक्ष्मीनियास्थित परियोजनाको स्टिल टावर उत्तरको ७ नं. ब्लक र अघिल्लो दिन गौशाला–८, कुसुमाडीको प्लट नं. ३ नजिकको ‘ग्रिन बेल्ट’ मा भएका त्रासदीपूर्ण घटनाले वनजंगलको सुरक्षालाई चुनौतीपूर्ण बनाएको हो ।

माईस्थानस्थित परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख विधासागर कर्णका अनुसार राति करिब २.३० बजेतिर उत्तरतर्फको ग्रिन बेल्टमा २ वटा बत्ती बलेको देखेपछि रेन्जर रोहित चौधरीको कमान्डमा खटिई गएको ११ जना परियोजनाकर्मीको टोलीले एरिया घेराबन्दी गरी खोजी गर्दा शंकास्पद अवस्थामा बा.५ च ४३१ नं. को बोलेरो गाडी फेला पारेको थियो ।

बोलेरोको तलासी लिँदा त्रिपालले छोपेको करिब ५५ क्युफिट साल जातका १६ थान काठ देखिएपछि गस्तीमा रहेका परियोजनाकर्मीले स्थितिको गम्भीरता बुझेका थिए । सोही समयतिर जंगली क्षेत्रको बाटो हुँदै दक्षिणबाट केही मोटरसाइकल हुइकिँदै उत्तरतर्फ लागेपछि मध्यरातको बेला त्रास र संशय थपेको गस्तीमा रहेका परियोजनाकर्मीले जनाए ।

गस्ती कर्मचारीको बाक्लो उपस्थिति देखेपछि काठ तस्करले बोलेरो ‘लक’ गरी भागेका थिए । कार्यालय प्रमुख कर्णका अनुसार बोलेरोलाई पूर्वपश्चिम लोकमार्गको सुनसान जंगलमा ल्याई पु–याउँदा फेरि एक्सल भाँचिएर गुड्नै नसक्ने अवस्थामा पुग्यो । यतिबेलासम्म सूर्योदय भइसकेको थियो । रातभरको जाग्रामले कर्मचारी थकित थिए ।

फेरि पनि बिग्रेको गाडी निगरानीका लागि परियोजनाले २ जना चौकीदारलाई खटाएको थियो । त्यसको केहीबेरपछि मोटरसाइकलमा आएका २ जना काठ तस्करले सुनसान जंगलबिच ड्युटीमा रहेका चौकीदारलाई ज्यान मार्नेसम्मको धाकधम्की देखाई चौकीदार श्याम महतोको मोबाइल थुतेर काठ बरामदीका फोटो उडाएको कर्णले जनाए ।

कर्णले भने, ‘चौकीदार धम्क्याउने २ जनामध्ये ३४ वर्षीय राजे महतो नामका व्यक्तिलाई पहिचान गरिएको छ । उनीहरूले गाडीको ब्याट्री पनि जबरजस्ती खोलेर लैजान खोजेका थिए ।’ लामो प्रयासपछि परियोजनाले काठ र बोलेरो नियन्त्रणमा लिएको छ ।

अघिल्लो रात पनि परियोजनाकै गौशाला–८, कुसुमाडीको जङ्गलस्थित प्लट नं. ३ मा काठ तस्कर र वनकर्मीबिच घम्साघम्सी पर्दा ३ जनालाई नियन्त्रणमा लिइएको थियो । राति करिब १० बजेतिर फरेस्टर उपाध्यायको कमान्डमा खटिई गएको गस्तीले ४ वटा साइकलमा २ थान सालको काठ चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा समाउने, लखेट्ने, उम्कने जस्ता हर्कतले परियोजनाको वन तनावग्रस्त क्षेत्र झैँ भएको थियो ।

झडपकाबिच परियोजनाकर्मीले गौशाला–८, भन्टाबारीका अभिषेक साह, रामकिसुन महतो र रामबाबु शर्मालाई नियन्त्रणमा लिनुका साथै ४.५८ क्युविक फिट सालका काठ र चार थान साइकल बरामद गरेको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाले जनाएको छ ।

दोहोरो झडपछि दुवै ठाउँबाट करिब ५८ क्युफिट सालजातको १८ थान काठसहित ३ जना तस्कर, ४ थान साइकल र एउटा बोलेरो पिकअप नियन्त्रणमा लिएको माईस्थानस्थित परियोजनाका हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख कर्णले बताए । पक्राउ परेका तिनै जनालाई माईस्थान सबडिभिजन कार्यालयले न्यायिक हिरासतमा राखी वन ऐन अनुसार कारबाही अगाडि बढाएको सबडिभिजन प्रमुख कृष्णकान्त पटेलले जनाए ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार