नारायणप्रसाद सुवेदी
२८ असार, काठमाडौं
नेपालबाट वार्षिक रूपमा करिब २२५ घनमिटर प्रतिसेकेन्ड पानी बग्ने गरेको पाइन्छ । वर्षातमा बाढी र हिउँदको समयमा कम जलस्रोतको उपलब्धता रहने गरेको छ । नेपालमा गण्डकी, कोशी, कर्णाली र महाकाली ठूला नदीहरू हुन् भने पश्चिम राप्ती, कमला, वाग्मती, बबई, कन्काई मझौला नदीका रूपमा छन् ।
हिमालयन पर्वत शृंखलाबाट उद्गम भएर बहने ठूला नदीहरूमा बाह्रैमास पानीको मात्रा अत्यधिक हुने गरेको छ । तिनीहरू पानी प्रशस्त हुने जलाधार नदीका रूपमा रहेका छन् । मझौला नदीहरूमा वर्षातको समयमा अत्यधिक पानी हुन्छ, त्यति बेला बाढी, डुबान, कटान र पटान हुन्छ । हिउँदमा कम बहाव हुन्छ । मझौला नदीहरू महाभारत पहाडबाट उद्गम भएर भारत प्रवेश गर्छन् । अर्कातर्फ चुरे शिवालिक क्षेत्रबाट बहने नदीहरू प्रायः खहरे किसिमका नदी/खोला हुन् । तिनीहरू वर्षातमा गडगडाएर बग्छन्, हिउँदमा पानीको काकाकुल हुन्छ ।
नेपालका नदी/खोलाको वैज्ञानिक र व्यवस्थित उपयोग गरी मुलुकलाई समृद्ध बनाउन अपहरिहार्य छ । अर्कातिर बाढीपहिरो, डुबान, कटान र पटानबाट हुन सक्ने असरलाई न्यूनीकरण गरी जीउधन र पूर्वाधार जोगाउनुपर्नेछ । नेपालका ५ मझौला नदीहरूमध्ये कन्काई झापा हुँदै, कमला सिरहा र धनुषा हुँदै र वाग्मती सर्लाही हुँदै बगेका छन् भने बबई नदी बर्दिया र पश्चिम राप्ती नदी दाङबाट बाँके हुँदै भारत प्रवेश गर्छन् ।
बबई नदीमा आउने बाढीले बर्दिया जिल्लाको घोरभित्ता, वनकट्टी, कुसुम्बाघाट, बालापुर, गुरुवागाउँ, जब्दीघाट, प्रयागपुर, पशुहाट, थपुवा, लड्कनियालगायतका स्थानमा अत्यधिक क्षति पु¥याउने गरेको पाइन्छ । बर्दिया सदरमुकाम गुलरिया पनि बबई नदीको बाढीबाट अत्यधिक जोखिममा छ ।
तटीय क्षेत्रको अवस्था
पश्चिम राप्ती नदी रोल्पाबाट उद्गम भई प्यूठान, अर्घाखाँची, दाङ र बाँके हुँदै बगेको छ । यो नदी नेपालमा मात्र २५७ किलोमिटर लामो छ, जसमध्ये लगभग ८५ किलोमिटर दाङमा पर्छ । प्यूठानको ऐरावती गाउँमा २ सहायक नदी झिमरुक र मादी मिसिएपछि यसलाई पश्चिम राप्ती भनिन्छ । रान्सिङ खोला जोडिएपछि लगभग शिवालिक क्षेत्रमा बग्छ । करिब ६ हजार ७ सय वर्ग किलोमिटर जलाधार क्षेत्र रहेको पश्चिम राप्ती नदीमा लुग्री, माडी र अर्जुन खोला जस्ता चुरे शृंखलाबाट बहने नदीहरू मिसिन्छन् ।
उद्गम स्थलबाट करिब दाङको भालुबाङसम्म अत्यन्त बढी भिरालो भएकाले पानीको बहाव तीव्र हुने गर्छ । जलाधार क्षेत्रमा मुख्यतया वन, बस्ती, खेतीयोग्य जमिन र नदी प्रवाह क्षेत्र छन् । दाङको भालुबाङबाट तल लागेपछि नदीको भिरालोपन घट्दै जाने गर्छ । चुरे पहाड शृंखलाबाट निस्कने खैरी खोला, मुंगुवा खोला, झिन्जरी खोला र डुन्डुवा खोला जस्ता साना खहरेसमेत पश्चिम राप्ती नदीमा मिसिन्छन् । यो नदी बाँकेको होलिया, मटेहिया र गंगापुर हुँदै भारत प्रवेश गर्दछ ।
उच्च वर्षा, भूक्षय, जमिनको बढी भिरालोपन, गेग्रान, कटान र पटान, नदीको धार परिवर्तन, पानीको प्राकृतिक बहाव रोकिने गरी निर्मित संरचना जस्ता कारणले पश्चिम राप्ती नदीको तल्लो तटीय क्षेत्र बाढीबाट सधैं प्रभावित हुने गरेको पाइन्छ । जनसंख्या वृद्धिको दबाब र बाढी नआएको अवधिमा आर्थिक अवसरको तुलनात्मक रूपमा हुन सक्ने बढी उपलब्धताका कारण मानिस बसाइँ सरिरहेका छन् र बाढी आउन सक्ने बगरमा समेत बसोबास गरिरहेका छन् ।
अव्यवस्थित तरिकाले निर्माण गरिएका विकासका संरचनासमेत बाढीको जोखिमका कारक बन्न पुगेका छन् । पश्चिम राप्ती नदी बेसिनका समुदायका लागि बाढी वर्षौंदेखि गम्भीर समस्या बनेको छ । यस नदीमा चुरे/शिवालिक पर्वत शृंखलाबाट उत्पन्न हुने खहरे खोलाद्वारा ल्याइएको गेग्रान नदी क्षेत्रभित्र जम्मा भई सतह बढ्दै गएको छ । खेतीयोग्य जमिनमा गेग्रान थुप्रिँदा बालीनाली नष्ट हुने, बगर बन्ने समस्या छ ।
बाढीको क्षति
यो आलेख पश्चिम राप्ती नदीमा बाढी आउँदा विशेष गरी बाँके जिल्लामा पार्न सक्ने असरमा केन्द्रित छ । यही असार २१, २२ र २३ मा आएको बाढीले खतराको तह पार गरेपछि तटीय क्षेत्रमा डुबान भयो । त्यसपछि होलियाको कृषिचौफेरी र बोर्डरचौफेरी लगायतका गाउँबाट केही परिवारलाई सुरक्षित स्थानमा सारियो ।
पानीको सतह मापन गरी बहाव क्षमता पत्ता लगाउन जलकुण्डी, वागासोती र कुसुम गरी तीन ठाउँमा जलवायु मापन केन्द्र स्थापना गरिएको छ । वर्षातमा पानीको सतह अत्यधिक बढ्ने हुँदा विशेषगरी बाँकेका कचनापुर, महादेवपुरी, विनौना, लालपुर, ढलैया, शमशेरगन्ज, वनकट्टी, वेतहनी, कम्दी, होलिया, फत्तेपुर, सोनाफाटा, जरैया, मटैया, गंगापरसपुर, भगवानपुरलगायत स्थान बाढीबाट अत्यधिक प्रभावित भएको पाइन्छ ।
पश्चिम राप्ती नदीमा बारम्बार आउने बाढीका कारण धनजनको क्षति हुनाले स्थानीय बासिन्दाको जीविकोपार्जनमा समेत कठिनाइ भइरहेको छ । यहाँ सन् १९९७, १९८१, १९८३, १९८९, १९९८, २००६, २००७, २००९, २०१२, २०१४ र २०१७ मा बाढी आएको देखिन्छ ।
एक अध्ययनअनुसार सन् १९८१ मा १०० वर्षमा एक पटक आउने (रिटन्ड पिरियड) बमोजिमको बाढी आएको देखिन्छ । नेपाल–भारत सीमानजिकै भारतीय पक्षद्वारा निर्मित कलकलुवा तटबन्धले समेत पानीको प्राकृतिक निकास प्रवाहमा बाधा पु¥याएकाले बाढीको समस्या थप बढेको छ ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९, बाँकेका अनुसार सन् २००७ देखि २०१९ सम्ममा प्रभावित घरपरिवार र व्यक्तिका आधारमा र सन् २०१७ को मानवीय क्षति समेतका आधारमा सन् २०१४, २०१७ र २००७ मा आएका बाढी क्रमशः पहिलो, दोस्रो र तेस्रो विनाशकारी बाढी हुन् ।
सन् २०१४ सालमा आएको वर्षाले अत्यधिक क्षति गरेको देखिन्छ, जुन बेला १५ जनाको ज्यान गएको थियो, हजारौं प्रभावित भएका थिए । कैयन् परिवार विस्थापित भएका थिए । त्यति बेला एक सातासम्म डुबान भएको थियो । २०१४ को विनाशकारी बाढीले नदीको धारसमेत परिवर्तन गरिदिएको थियो ।
धार परिवर्तन हुँदा करिब १० वर्ग किमि कृषियोग्य जमिन कटान भएको थियो । बस्तीसमेत कटानमा परेको थियो । बाढी आएको करिब १० वर्ष पछाडि पनि त्यहाँको जग्गा कृषिका लागि पुनः उपयोग हुन सकेको छैन । धेरै क्षेत्रमा अझै पनि मसिनो बालुवा र माटो थुप्रिएको छ ।
क्षति न्यूनीकरणका उपाय
बाढी जोखिम र क्षतिको मूल्यांकनमा गेग्रान, कटान र पटान महत्त्वपूर्ण कारक हुन् तर यस्ता प्रकोपहरूको गहन अध्ययन गरी जोखिम र क्षतिको मूल्यांकन गरेको विरलै मात्र पाइन्छ । बाढी, डुबान, गेग्रान, कटान र पटानसमेतको एकीकृत प्रभावलाई ध्यानमा राख्दै जोखिम पहिचान र क्षतिको अनुमान गरेर बहाव क्षमताका आधारमा विभिन्न विधि विकास गर्नु आवश्यक छ ।
माथिल्लो र तल्लो तटीय क्षेत्रबीच पूर्वचेतावनी, सावधानी प्रणाली, रेडियो, टेलिभिजनबाट औपचारिक र अनौपचारिक सूचना प्रवाह प्रणाली, सूचना आदानप्रदान, विपद् शिक्षा, राहत उद्धार तालिम एवं अस्थायी तथा स्थायी आश्रय स्थलको व्यवस्थापन पनि प्रभावकारी हुनुपर्छ ।
बाढीबाट अत्यधिक प्रभावित क्षेत्रमा पक्की, अर्धपक्की र माटाबाट बनेका गरी मोटामोटी ३ प्रकारका घर छन् । माटाको घरहरूमा बढी क्षति देखिन्छ । अर्धपक्की र माटाका घरहरू जमिनको सतहभन्दा कम्तीमा ०.५ मिटर उचाइबाट मात्र पनि निर्माण गर्न सके जोखिम केही कम हुन सक्छ । जीउधन र पूर्वाधार संरक्षणका लागि एकीकृत अध्ययन गरी बाढी, गेग्रान, कटान, पटानको जोखिम नक्सा तयार गर्नुपर्छ र त्यहीअनुसार जग्गा उपयोग नीति बनाइनुपर्छ । बाढी तथा विपद् प्रतिरोधी संरचना निर्माण पनि गर्नुपर्छ ।
कान्तिपुर दैनिकमा प्रकाशित । सुवेदी बाढी डुबान, गेग्रान, पटान तथा कटानबाट हुन सक्ने जोखिम तथा क्षतिसम्बन्धी विषयमा विद्यावारिधि गर्दै छन् ।