Friday, October 18, 2024

वाग्मती किनारमा वृक्षरोपण

३० असार, काठमाडौं
कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । म्यान्मारकी समाजसेवी तुलसी थापाले उपलब्ध गराएकी १५ वटा तेजपातका बिरुवा वाग्मती सफाइ महाअभियानको ५ सय ८३औँ हप्ताको अवसरमा रोपिएको हो ।

वाग्मती सफाई अभियानकर्मी किशोरसिंह शाहीका अनुसार थापाले उपलब्ध गराएका बिरुवाका अतिरिक्त पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपातसहित ५० भन्दा बढी ५ फिट अग्ला वृक्षरोपण गरिएको हो । वर्षामा बाढीले वाग्मतीमा जम्मा भएका फोहर बगाएर लैजाने गरेकाले वर्षायाम लागेपछि नदी क्षेत्र सफा देखिने गरेको छ ।

सफाइमा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तन्डुकार, नेपाल नदी संरक्षण संस्था अध्यक्ष मेघ आले, वरिष्ठ कृषि विशेषज्ञ छवि पौडेललगायत अभियानकर्मी सहभागी थिए । नदी किनारमा भेटिएका नकुहिने फोहर काठमाडौं महानगरपालिकाको वातावरण विभागले व्यवस्थापन गरेको थियो ।

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान अझै जारी छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई सहायक नदीमा पनि सफाइ अभियान सुरु गरिएको छ । चक्रपथका उत्तर पश्चिमी भेगमा सफाइ अभियान चलिरहेको छ । काठमाडौं उपत्यका बाहिरका प्रमुख नदीमा सफाइ सुरु भएको छ ।

हाल देशभर १ सय ८ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । अर्को हप्ता वाग्मती सफाइ कोटेश्वर महादेव मन्दिरभन्दा तल वाग्मती पहेँलो पुल अर्थात् गणेश मन्दिर चोक क्षेत्रमा गरिने जानकारी दिइएको छ ।

सामुदायिक वनमा रोपिए ७२ हजार बिरुवा
यस वर्ष रुकुमपश्चिमका सामुदायिक वनमा ७२ हजार भन्दा बढी रोपिएको छ । डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार ४ सय १८ बिरुवा रोपिएको हो ।

रोपिएका बिरुवामध्ये ४७ हजार २ सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको हो । बाँकी २५ हजार १ सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी ४३ हजार ५ सय ५० टिमुरका बिरुवा रोपिएका छन् । सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताए । बिरुवा तथा अन्य सामग्री खरिदमा २० लाख खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार