Friday, October 18, 2024

कञ्चनपुरमा अतिभारी वर्षा

२४ असार, काठमाडौं
वाग्मती प्रदेश लगायत अन्य भेगहरूमा निरन्तर झरीको अवस्थामा सुधार भइरहँदा सुदूरपश्चिमको कञ्चनपुरमा भने अति भारी वर्षा भएको छ ।

कञ्चनपुर र आसपासका भेगहरूमा ७ दशकयताकै भीषण वर्षा रेकर्ड भएको छ । २४ घण्टाको अवधिमा (सोमबार विहानसम्ममा) सो क्षेत्रमा ६ सय २४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार भारतको उत्तरप्रदेश र कञ्चनपुरमा शक्तिशाली न्यूनचापीय क्षेत्र विकास हुँदा अतिभारी वर्षा भएको विभागका अधिकारी बताउँछन् । कञ्चनपुर आसपासका भेगहरूमा औसतमा ५ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । कञ्चनपुरको अतिभारी वर्षाको सो मात्रा नेपालमा वर्षाको अवस्था मापन गर्न थालेयताको सबैभन्दा बढी भएको विभागले प्रष्ट्याएको छ ।

यसअघि सुदूरपश्चिमको महेन्द्रनगरमा डेढ दशकअघि (सन् २००९ अक्टोबरमा) २४ घण्टामा ३ सय ९.५ मिलिमिटर वर्षा भएको विभागको अभिलेख छ । यसअघि १३ अगस्ट २०१७ मा २४ घण्टामा मकवानपुरमा ५ सय १६.२ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि १५ अगस्ट २०१४ मा कैलालीको चिसापानीमा ४ सय ९९.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

कञ्चनपुर, कैलाली र आसपास भेगहरूमा भीषण वर्षासँगै धेरैजसो बस्तीहरू बाढी र डुबान भएपछि अधिकांश स्थानीय विस्थापित भएका छन् । अविरल वर्षा सुरु भएपछि महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी, खोला र जलाधार क्षेत्रमा जलसतह उच्च भएको छ ।

यसैबिच महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलेको हो ।

महाकालीमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघेपछि ब्यारेजका सबै ढोका खोलिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।शनिबार (२२ असारमा) आधा भन्दा बढी ढोका खोलिएकोमा आइतबार विहानैदेखि बहाव जोखिम तह नजिक पुगेपछि सबै ढोका खोलिएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार