Thursday, July 4, 2024

चितुवाबाट जोगिने प्रणाली जडान

१८ असार, कास्की
चितुवाको आतंकबाट स्थानीयलाई जोगाउन पोखरामा मोबाइल एसएमएस प्रणाली जडान सुरु गरिएको छ ।

जनावर र वन्यजन्तुको द्वन्द्वको क्षेत्रमा काम गर्दै आइरहेको ग्रिन गर्भनेन्स नेपालको पहलमा पोखरा महानगरपालिका–३१ र ३२ को ग्रामीण क्षेत्रमा यस्तो प्रणाली जडान गरिएको हो ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत पोखरा महानगरको बेगनास र रूपाताल क्षेत्रमा पर्ने २ वडाका विभिन्न गाउँमा यो प्रणाली जडान कार्य आरम्भ गरिएको संस्थाका कार्यक्रम अधिकृत अर्जुन भुसालले जानकारी दिए ।

बस्तीमा चितुवा प्रवेश गरेको जानकारी एसएमएसको माध्यमबाट स्थानीयको मोबाइलमा आउने भुसालले बताए । ‘यस्तो ठाउँमा चितुवा देखियो, सतर्क रहनु होला’ भन्ने प्रकारको सूचना मोबाइलमा आउने प्रणाली जडान गरिएको उनले जानकारी दिए ।

युएसएआइडी बायोडाइर्भसिटीको सहयोग र नेपाल टेलिकमसँगको सहकार्यमा यस्तो अभ्यास सुरु भएको हो । भुसालका अनुसार सो क्षेत्रमा जडान गरिएका सेन्सरयुक्त क्यामराले चितुवाको स्क्यानिङ गर्ने र त्यसको जानकारी जडान गरिएको माइक्रो कम्प्युटरको माध्यमबाट मोबाइलमा म्यासेज जाने प्रणालीको विकास गरिएको हो ।

उनले भने, ‘पाइलट प्रोजेक्टका रूपमा कास्कीको रूपा र बेगनास तालको क्षेत्रलाई लक्षित गर्दै यो प्रणाली सञ्चालन गरेका छौँ । वन्यजन्तुका कारण समुदायमा क्षति कम गर्नका लागि यो प्रणालीको सुरुवात नेपाल टेलिकमसँगको सहकार्यमा सुरु गरेका हौँ ।’

यस्तो ‘अलर्ट’ प्रणालीले चितुवासहितका हिंस्रक जनावरको क्षतिबाट समुदायलाई फाइदा पुग्ने भुसालको विश्वास छ । हालै पोखरा–३२ स्थित डाँडागाउँमा एउटा क्यामरा जडान गरी सुरु गरिएको यो कार्यक्रम रूपा र बेगनास वरपरका थप १० स्थानमा जडान गरिने उनले बताए ।

उच्च प्रविधियुक्त नाइटभिजनसहितका क्यामराले २० मिटर आसपाससम्म स्क्यानिङ क्षमता राख्ने गर्दछ । उक्त प्रविधियुक्त क्यामरा तथा प्रविधिको निर्माण र डिजाइन नेपाली इन्जिनियरद्वय भाष्कर रसाइली र सरोज बेल्बासेले गरेका हुन् । सो क्यामराको मूल्य ६० देखि ७० हजार रूपियाँसम्म पर्ने अनुमान गरिएको छ ।

यो कार्यक्रमले आफूहरू ढुक्क हुने वातावरण बनेको पोखरा–३२, डाँडागाउँका स्थानीय घनश्याम कुँवरले बताए । साँझ बिहान मेलापात आउँदा जाँदा ढिलो हुने भएकाले वन्यजन्तुबाट घरमा पालेका बाख्रा, कुखुरा, कुकुरलगायतमा अकस्मात् आक्रमण भई क्षति हुने गरेकोमा अब यो प्रणालीले क्षतिमा न्यूनीकरण हुने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘केही वर्ष पहिले यहीँमाथि एक जना बालकलाई चितुवाले आक्रमण गरेको थियो । अब यस्ता घटनाबारे समयमै थाहा पाइयो भने सतर्कता अपनाउन सकिन्छ ।’

संस्थाले यसका अलवा समुदायमा १ सय ५० घरधुरीमा बाख्राको खोर सुधारका साथै बाँदर धपाउन ‘एक्योस्टिक सेन्टर’ को अवधारणालाई पनि लागु गर्ने तयारी गरिरहेको कार्यक्रम अधिकृत भुसालले बताए ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार