Monday, July 15, 2024

चोरी शिकारले मासिँदै डाँफे

१८ असार, काठमाडौं
नौरङ्गी राष्ट्रिय पक्षी डाँफे पछिल्लो समय अत्यधिक सिकारले संकटमा परेको छ ।

डाँफेलाई नेपालको राष्ट्रिय पक्षीका रूपमा विसं २०१९ को संविधानमा पहिलो पटक उल्लेख गरिएको हो । नेपालको संविधान २०१९ को धारा ६ (२) मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे भनेर उल्लेख गरिएको थियो ।

राष्ट्रिय चिह्नहरू छनोट गर्ने सिलसिला भने संविधान निर्माण गर्नुअघि सुरु भएको थियो । तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेसँगै नयाँ संविधान बनाउँदा नेपालको राष्ट्रिय फूल, जनावर, रङ र राष्ट्रिय पक्षी तोक्न बालकृष्ण समलाई संयोजक तोकिएको थियो ।

त्यसबेला फरक फरक मापदण्ड बनाएर छनोट गर्ने विधि अपनाइएको वरिष्ठ जैविक विविधताविद् डा. तीर्थबहादुर श्रेष्ठले बताए । उनका अनुसार डाँफेको नौरङ्गी रङ असाध्यै सुन्दर मानिन्छ । राजाले लगाउने श्रीपेच जस्तो कल्की भएको अनि हिमालको शिर जस्तो पनि देखिने भएकै कारण डाँफे छनोट भएको हो ।

तराईमा पाइने अर्को सुन्दर चरा मयूरलाई राष्ट्रिय पक्षी बनाउने कुरा पनि नचलेको होइन तर त्यसअघि नै भारतले आफ्नो राष्ट्रिय पक्षी घोषणा गरिसकेकाले मिलेन । श्रेष्ठका अनुसार डाँफेको प्वाँखमा पाइने ९ वटा रङले नेपालको भाषिक, धार्मिक जातीय, सामाजिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने विषयलाई पनि संयोजक समले महत्वका साथ लिएको पाइन्छ ।

संरक्षित क्षेत्रमा सीमित

नेपालको हिमरेखाभन्दा तल्लो क्षेत्रमा बसोबास गर्ने डाँफेको संख्या घट्दै गएकाले अद्यावधिक गर्न थप अध्ययन गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन् । पहिले पहिले अन्नपूर्ण पदमार्ग, सगरमाथा पदमार्गलगायतका बाहिरी क्षेत्रमा प्रशस्त देखिने डाँफे अचेल संरक्षित क्षेत्रभित्र मात्र सीमित हुने अवस्थामा पुगेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

डाँफे सुन्दर चरा हो, जसलाई नेपालको आफ्नो नाम डाँफेबाटै चिनाउने पहल भएको थियो । अङ्ग्रेजीमा हिमालयन मुनाल भनेर गरिएको नामकरणमा बरालसहितका चराविद्ले आपत्ति जनाएर नाम डाँफे नै भन्न र लेख्न थालिएको छ । मुनाल नामको अर्को छुट्टै चरा नेपालमै पाइन्छ ।

राष्ट्रिय चरा भए पनि कुल सङ्ख्याबारे यकिन गर्न नसकिएको बराल औँल्याउँछन् । उनले भने, ‘चोरी सिकार मुख्य चुनौती हो, धेरै संरक्षित क्षेत्रभन्दा बाहिर अचेल डाँफे देख्न मुस्किल छ । कहिलेकाहीँ देखिहाल्यो भने पनि भागिहाल्छ । यो भनेको मानिसकै कारण डाँफे हराउँदै छ ।’

हिमाली भेगमा यसलाई कुखुरा जसरी सिकार गरेर खाने गरेको पाइएको बरालले जानकारी दिए । डाँफे समात्न जाल र पासो थाप्ने गरिएको पाइन्छ । त्यस्तै सिधै बन्दुक हानेर मारिएको पाइन्छ ।

उनका अनुसार हिमाली जिल्लामा यार्चागुम्बा टिप्ने सिजन डाँफेको कालको सिजन हो । विद्यालयसमेत बन्द गरेर मानिसको ठुलो हुल यार्चागुम्बा टिप्न जाने गर्छन् । उनले थपे, ‘लेकको त्यो चिसोमा जे भेट्यो त्यही मारेर खान्छन्, डाँफे, मुनाल, च्याखुरा, हिउँ कुखुरा केही छाड्दैनन् ।’

त्यो समय भनेको हिमाली भेगमा डाँफेलगायतका चराले बच्चा कोरल्ने समय हो । ओथारो बसेको डाँफेका भालेपोथी बच्चा र अन्डा जोगाउन कसैले आक्रमण गरिहालेमा गुँड छाड्दैनन् र सिकारीको चपेटामा बढी पर्ने गरेको बराल बताउँछन् ।

चराविद्हरूका अनुसार डाँफे अत्यन्त लजालु चरा हो । यसको बच्चा कोरल्ने समय २९ दिनसम्म हुने गर्छ । ढोरपाटन सिकार आरक्ष बनेपछि सो क्षेत्रभित्र डाँफेको संख्या बढे पनि बाहिर कम भएको छ । यसको सुन्दर प्वाँख हिमाली भेगको धार्मिक तथा सांस्कारिक परम्परामा बढी प्रयोग हुने गरेको पाइन्छ । जसले यसलाई खतराको सूचीनजिक पु-याएको दाबी संरक्षणकर्मीको छ ।

बरालका अनुसार घाँसे मैदान र बुट्यानको आडमा भिरालो र चट्टानयुक्त भिरमा डाँफेको गुँड हुन्छ । एउटा भालेसँग धेरै पोथी डाँफेको संसर्ग हुने गर्छ । झ्याउ, बिरुवाका जरा, पखेरामा पाइने किराका लार्भा डाँफेका मनपर्ने खानेकुरा हुन् । वनका काफल, ऐँसेलु आदि पनि यसले खाने गर्छ ।

यो चरा वर्षामा २ हजार ८ सय मिटरदेखि ४ हजार ७ सय ५० मिटरसम्मको उचाइमा देख्न पाइन्छ । त्यस्तै हिउँदको समयमा २ हजार ५ सय मिटरसम्म तल झरेर बस्ने गर्छ । मकालु वरुण, सगरमाथा, लाङटाङ, सेफोक्सुन्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण र अपिनाम्पा संरक्षण क्षेत्र डाँफेको प्रमुख बासस्थान हो । नेपालमा डाँफेको अनुमानित संख्या करिब ५ हजार आसपास मानिएको छ ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार