Sunday, June 30, 2024

मंगलसेनमा मौसम मापन केन्द्र

९ असार, अछाम
मंगलसेनमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रले तापक्रम, वायु र वर्षा मापन गर्ने छ ।

मंगलसेन नगरपालिका र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागको समन्वयमा मंगलसेन–३ को वडा कार्यालय नजिक मौसमबारे सूचना दिने केन्द्र स्थापना गरिएको हो । जलवायु परिवर्तन र मौसमका सूचना समयमै सहज प्राप्त गर्न यस्तो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

केन्द्रले यस क्षेत्रको तापक्रम, वर्षा, हावाको गति, माटोको तापक्रम मापन गरेर तथ्यांक उपलब्ध गराउने छ । मापन गरिएका तथ्यांक प्रत्येक आधा घण्टाको फरकमा जानकारी लिन पाइने विश्वविद्यालयका सहप्राध्यापक डा. मदन सिग्देलले जानकारी दिए । ‘अहिलेको जलवायु परिवर्तन र विपत् न्यूनीकरणका लागि मापन केन्द्रले राम्रो भूमिका खेल्ने छ’, उनले भने ।

मौसमबारेको सूचना समयमा प्राप्न हुन नसक्दा यस क्षेत्रका नागरिकले भोग्नुपर्ने सम्भावित क्षतिबाट वच्न केन्द्रले मद्दत गर्ने मंगलसेन नगर प्रमुख पदमबहादुर बोहोराको भनाइ छ । केन्द्रबाट चाँडै सूचना दिने गरी प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । स्वचालित मौसम केन्द्रमा मापन गरिएको तथ्यांक निर्देशनालयको वेबसाइटबाट जानकारी लिन सकिने गरी काम हुने त्रिविका सहप्राध्यापक सुनील आचार्यको भनाइ छ ।

उक्त मापन केन्द्रमा यस क्षेत्रको माटोमा हुने तापक्रमको पनि सूचना दिने भएकाले कृषकले आफ्नो खेतबारीमा लगाएको नगदे र अन्य बालीमा पानीको आवश्यकताबारे जानकारी लिन सकिने बताइएको छ । तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।


गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार