Sunday, September 8, 2024

प्रजनन् केन्द्रमा कोरलिए २ सय ३ बच्चा

७ असार, चितवन
चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा २ सय ३ वटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट संकलन गरिएका २ सय ४७ अण्डाबाट १ सय ९८ र प्रजनन् केन्द्रमा रहेका ५ अण्डासहित २ सय ३ गोहीका बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा ८ वटा गुँडबाट संकलन गरिएका २ सय ४७ अण्डालाई प्रजनन् केन्द्रमा ‘ह्याचिङ’ गरिएका थिए । आर्थिक वर्ष २०७९/८० मा २ सय ५९ अण्डाबाट २ सय २२ बच्चा कोरलिएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ५ सय ६३ अण्डाबाट ४ सय ९६ बच्चा कोरलिएका थिए ।

प्रजनन् केन्द्रमा भाले बूढो भएकाले चल्ला निस्कने क्रम कम भएका र गत वर्ष एउटामात्र बच्चा कोरलिएको थियो । अघिल्ला वर्षहरूमा पनि बच्चा कोरल्ने दर न्यून रहेको छ । प्रजनन् केन्द्रमा ७ सय ७३ गोही रहेका छन् भने तीमध्ये २० र ४६ वर्षका २ भाले छन् ।

यसै आवमा गरिएको सर्भेमा राप्ती र नारायणी नदीमा २ सय ६५ वटा गोही देखिएका थिए । तीमध्ये ६ वटा भाले रहेको तिवारीले जानकारी दिए । नदी किनारमा जोखिममा रहेका गुँडहरूबाट संकलन गरिएका अण्डा ह्याचिङमा राखेर निस्किएका चल्ला हुर्काएर नदीमा छोडिँदै आएको छ ।

यस आवमा राप्ती नदीमा १ सय ५ वटा गोही छाडिएको छ । प्रकृतिक बासस्थानमा बाँच्ने र हुर्कने दर कम भएको संरक्षित वन्यजन्तु घडियाल गोहीको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रजनन् केन्द्रमा गोही हुर्काउने गरिएको छ । विसं २०३५ मा स्थापना गरिएको प्रजनन् केन्द्रबाट हालसम्म १ हजार ९ सय ५७ घडियाल गोही प्राकृतिक बासस्थानमा छोडिएका छन् ।

सूचना अधिकारी तिवारीले हालसम्म राप्तीमा १ हजार २ सय २, नारायणीमा ४ सय १९, बबईमा १ सय १०, सप्तकोशीमा १ सय १५, कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएका जानकारी दिए । नदीमा छोडिएका भन्दा कम संख्यामा गोही हुनुको कारण पानीको बहाबसँगै बगेर जाने र मर्नेलगायत विभिन्न कारण रहेका तिवारीले बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार