Friday, October 18, 2024

प्रधानमन्त्री प्रचण्डलाई गुटेरेसको निम्तो

२५ जेठ, काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले ‘समिट अफ द फ्युचर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा पठाएका छन् ।

जलवायु परिवर्तन लगायतका समकालीन चुनौति र दिगो विकासका लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्न लागि राष्ट्र संघले आगामी असोजमा अन्तर्राष्ट्रिय सम्मेलन तय गरेको छ । राष्ट्र संघको ७४औं महासभामा विशेष सत्रका रूपमा यस्तो सम्मेलन हुँदैछ । विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्रीहरू र अन्य सरोकारवालाहरू सहभागी हुने ‘समिट अफ द फ्युचर’ सम्मेलन ७–८ असोजमा (सेप्टेम्बर २२–२३मा) लागि तय गरिएको छ ।

सम्मेलनले भविष्यका लागि साझा धारणा र सहकार्यमार्फत अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्दै उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । वर्तमान र भावी पुस्ताका लागि थप लचिलो विश्वव्यापी समुदायलाई प्राथमिकता दिन सम्मेलनको गृहकार्य अघि बढेको छ ।

सो सम्मेलन विश्वव्यापी आर्थिक र वित्तीय संरचना, मानव अधिकार, वातावरणीय सुशासन, शान्ति सुरक्षा, राष्ट्र संघ र विश्वव्यापी सुशासनलगायतका विषयवस्तु केन्द्रित हुने छ ।

नेपालस्थित राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले बिहीबार (२४ जेठमा) प्रधानमन्त्री प्रचण्डलाई भेट गरी महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरिन् । सो अवसरमा प्रचण्डले महासचिव गुटेरेसको गत वर्षको नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकामा आभार व्यक्त गरे । साथै उनले सम्मेलनमा सहभागी हुन आफू सकारात्मक रहेको बताए ।

राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरले राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि प्रधानमन्त्री सम्मेलनमा सहभागी हुनुपर्ने ध्यानाकर्षण गराइन् ।

ताजा समाचार

सम्बन्धित समाचार