Monday, October 21, 2024

पश्चिम तराईमा तातो लहरको प्रक्षेपण

१३ जेठ, काठमाडौं
तराईमा तातो हावा (लु)को प्रभाव बढ्ने भएको छ । तत्काल निरन्तर वर्षाको सम्भावना नरहेकाले समग्र तराईमा गर्मीको मात्रा बढ्ने भएको हो ।

चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा तातो हावा (लु) चल्ने जल मौसम विज्ञान विभागको प्रक्षेपण छ । गर्मीको अवस्था ४० डिग्री र सो भन्दा माथि रहने बताउँदै विभागले आइतबार अपराह् विशेष बुलेटिन जारी गरेको छ ।

केही दिनयता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा तापक्रम ४० डिग्री हाराहारी र सो भन्दा माथि पुगेको छ । मंगलबार (१५ जेठ)सम्म) गर्मी झनै बढ्ने बताउँदै विभागले भनेको छ, ‘आगामी ३ दिन (१३ जेठदेखि १५ जेठसम्म) तातो हावा र तातो लहरको सम्भावना रहेको हुनाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

मध्य तराई, चितवन र आसपासका भेगमा पनि गर्मीको मात्रा उच्च रहने विभागको ठहर छ । लगातार ३ दिन वा सो भन्दा बढी अवधिसम्म असामान्य रूपमा तापक्रम बढेपछि ‘लु’ भन्ने गरिन्छ । नेपालको सन्दर्भमा ३ दिन भन्दा बढी ४० डिग्री र सो भन्दा माथि तापक्रम कायम भएमा ‘लु’का रूपमा बुझ्ने गरिन्छ ।

तर विभाग र विभाग मातहतको मौसम पूर्वानुमान महाशाखा र अन्य क्षेत्रीय कार्यालयहरूले अहिलेको बढ्दो गर्मीलाई ‘लु’का रूपमा व्याख्या गरेका छैनन् । यसअघि गत १० वैशाख र १५ वैशाखमा पनि विभागले तातो हावा र तातो लहरबाट सतर्क रहन विशेष बुलेटिन जारी गरेको थियो ।

यसैबिच अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरभित्रका विद्यालय ५ दिनका लागि बन्द हुने भएका छन् ।

तातो हावाले विद्यार्थी बिरामी पर्न थालेपछि उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले मंगलबार (१५ जेठ) देखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आगामी शनिबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार