Thursday, October 24, 2024

प्रदूषण वढाउने इँटा उद्योग हटाइने

काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा संचालित इँटा उद्योग हटाउने तयारी शुरु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ र ३ मा सचालित ८ वटा इँटा उद्योगको वातावरण सम्वन्धी कानुन पालना नगरेकोले ती उद्योगको दर्ता नवीकरण नगर्ने जानकारी नगरपालिकाले दिएको छ ।

नमोबुद्धको वडा नम्बर ३ मा रहेका फूलवारी इँटा उद्यो , शिवशक्ति इँटा उद्योग , भैरब कुण्ड इँटा उद्योग, बिन्दबासिनी र सत्यनारायण इँटा उद्योग तथा वडा नम्बर ३ मा रहेको शंकर इँटा उद्योग, जय शिवशक्ति इँटा उद्योग र सत्य नारायण इँटा उद्योगले मापदण्ड पुरा नगरेको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले हाकाहाकीलाई जानकारी दिए ।

मेयर टिपी शर्माका अनुसार ५ वटा उद्योगमा वातावरण विभागले र ३ वटामा नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले अनुगमन गरेका थिए । ‘उद्योगले वातावरणका विभिन्न पक्ष ख्याल गर्नुपर्छ’, उनले भने, ‘वातावरणीय पक्षलाई ख्याल नगर्ने उद्योगलाई कारवाही गर्नुपर्छ, उद्योग नै हटाउने भनेको चाँही पक्कै होइन ।’

नगरपालिका र वातावरण विभागल उद्योगमा अनुगमन गर्दा वातावरणीय मापदण्ड पनि नपुगेको भेटिएको छ । यसैगरी, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयले पनि उपसचिव र शाखा अधिकृतको अगुवाईमा वातावरणीय प्रभावका बारेमा अध्ययन गरेको थियो । वातावरण विभागले मापदण्ड विपरितका इँटा उद्योगलाई कारबाही गर्न नगरपालिकालाई भनेको थियो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले नगरभित्र संचालित ८ वटै ईटा उद्योगले वातावरणीय पक्षको ख्याल नगरेको बताए । ‘वातावरण विभागबाट गरेको अनुगमनका क्रममा ५ वटा इँटा उद्योगले वातावरणीय प्रभाव मुल्याङ्कनमा कैफियत भेटियो’, उनले भने ।

वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले सर्वसाधारणको निवेदनका आधारमा अनुगमन गरेको जानकारी दिए ।

‘हामीले गरेको अनुगमनमा नमोबुद्ध नगरपालिकामा केही मापदण्ड विपरितका इँटा उद्योग भेटिएका छन्’, उनले भने, ‘मापदण्ड मिच्नेलाई कारबाही गर्नुपर्छ । नमोबुद्धका इँटा व्यवसायीहरु भने उद्योग बन्द गर्नुभन्दा वातावरण मैत्री ढंगले चल्ने उपाय सोचेर अघि बढ्न सहि कदम भएको उनीहरु बताउँछन् ।

इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले इँटा उद्योग बन्द गर्ने भन्दा पनि मापदण्डमा ल्याउने उपाय सोच्न स्थानीय निकायलाई आग्रह गरे ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव गोपी कृष्ण खनालले उद्योगहरुले वातावरण चाही पालना गर्नेपर्ने बताए । ‘वातावरणीय पक्ष्लाई ख्याल गरेर उद्योग चलाउनुपर्छ,’ उनले भने, ‘इँटा उद्योगले वातावरणीय पक्षसँगै वालश्रम र अरु सामाजिक पक्षमा ध्यान दिनुपर्छ ।’

मापदण्ड विपरीत सञ्चालनमा रहेका इँटा उद्योगलाई सरकारले कारबाही गर्ने बताइसकेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ वमोजिम इँटा उद्योगको वातावरणीय प्रभाव मुल्याङ्कन चेकजाँच गरी मापदण्ड विपरित भेटिए कारबाही गर्ने भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार