Wednesday, October 23, 2024

७० भन्दा बढी सामुदायिक वनमा डढेलो

३० चैत, म्याग्दी  
चैत महिना लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोले २ हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जङ्गली जनावर जङ्गल छोडेर गाउँ पस्न थालेका छन् ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० देखि १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

४ दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । बुधबार मूलछहरी सामुदायिक वनमा लागेको आगोले करिब डेढ सय हेक्टर वन क्षेत्र नाश हुनुको साथै जङ्गली जनावर वासस्थान छोडेर गाउँ पस्न थालेपछि गाउँले आतङ्कित भएका स्थानीयवासीले बताएका छन् ।

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन् । स्थानीय र सुरक्षाकर्मी २ दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् । आगलागीका कारण वनमा भएका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएको स्थानीय भीमबहादुर रिजालले बताए ।

यसैगरी पश्चिम म्याग्दीको निस्कोट, उपल्लो बदरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । ‘यसवर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भएको छ, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ’, उनले भने ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमासमेत पठाइएको उनको भनाइ छ । जिल्लाका अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार