Sunday, September 8, 2024

पृथ्वी जोगाउने बाचा तोड्दै धनी देश

२८ चैत, काठमाडौं 
जलवायु परिवर्तनका कारण उत्पन्न असर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका विश्वका धनी देशले अझै पनि गरिब देशमा खनिज इन्धन विकासमा अर्बाै डलर खर्च गरिरहेको पाइएको छ ।

जी– २० समूहमा रहेका विकसित र विकासोन्मुख देश र यी देशहरूले सहयोग गरेका बहुपक्षीय विकास बैंकले खनिज इन्धन विकासका लागि गरिब देशहरूमा सन् २०२० देखि सन् २०२२ सम्म १ सय ४२ अर्ब अमेरिकी डलर लगानी गरेको देखिएको हो ।

‘आयल चेन्ज इन्टरननेसनल (ओसिआई)’ र ‘फ्रेन्डस अफ अर्थ–अमेरिका’ ले संकलन गरेको तथ्यांकमा यस्तो देखिएको छ । यी दुई संस्थाले गरेको अध्ययनमा विगत ३ वर्षमा क्यानडा, जापान र दक्षिण कोरियाले यस प्रकारको लगानी सबैभन्दा बढी गरेका छन् । कोइला अथवा तेलभन्दा बढी ग्यास उत्खननमा धेरै लगानी गरिएको छ । जी– ७ समूहमा रहेका जापान र क्यानडाले सन् २०२२ मा विदेशी मुलुकमा खनिज इन्धनमा लगानी गर्ने प्रतिबद्धता गरेका थिए ।

पछिल्ला वर्षमा कोइलामा हुने लगानी न्यून रहे पनि तेल र ग्यासमा लगानी तीव्र गतिमा बढेको समीक्षात्मक अध्ययनले देखाएको छ । खनिज इन्धन क्षेत्रमा गरिएको लगानीमध्ये केही अस्ट्रेलियामा भए पनि अधिकांश लगानी विकासोन्मुख देशमा भैरहेको देखिएको छ ।

जी– ७ समूहले पनि सन् २०२२ को अन्त्यदेखि खनिज इन्धन क्षेत्रमा विदेशी राष्ट्रमा कुनै लगानी नगर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । अध्ययनअनुसार जापानले सन् २०२४ को मार्च मध्यसम्म विदेशमा यस प्रकारको लगानी गरेको देखिएको छ । ३ वर्षको अवधिमा विश्व बैंकले खनिज इन्धन विकासमा १.२ अर्ब अमेरिकी डलर लगानी गरेको र यो लगानीमध्ये दुई तिहाइ ग्याससँग सम्बद्ध परियोजनामा छ ।

त्यसैगरी सन् २०२३ को अन्त्यसम्म अमेरिका, जर्मनी तथा इटालीले खनिज इन्धन विकासमा अन्य देशमा अर्बाै डलर लगानी गरेको पाइएको छ । बेलायतले पछिल्ला ३ वर्षमा हरेक वर्ष सरदर ६० करोड अमेरिकी डलर लगानी गरेको पाइएको छ । क्यानडाले सन् २०२०देखि २०२२ सम्म हरेक वर्ष सरदर ११ अर्ब अमेरिकी डलर लगानी गरेको देखिएको छ । यसै अवधिमा दक्षिण कोरियाले १० अर्ब अमेरिकी डलर र जापानले ७ अर्ब अमेरिकी डलर लगानी गरेका छन् ।

अध्ययनअनुसार यही अवधिमा जी– २० समूहले स्वच्छ ऊर्जा विकास क्षेत्रमा अन्य देशमा १ सय ४ अर्ब अमेरिकी डलर लगानी गरेका छन् । ‘एकातिर धनी राष्ट्रले न्यायपूर्ण ऊर्जा रूपान्तरणको क्षेत्रमा विश्वव्यापी लगानी गर्न नसक्ने बताएका छन् । अर्कातिर क्यानडा, दक्षिण कोरिया, जापान, अमेरिका जस्ता राष्ट्रले जलवायु परिवर्तनका लागि जिम्मेवार खनिज इन्धन विकासमा संकोच नमानीकन लगानी गरिरहेका छन्,’ ओसिआइकी सार्वजनिक वित्त समीक्षक क्लेयर ओम्यानिक्युले भनिन् । यी राष्ट्रले तत्काल खनिज इन्धनमा लगानी बन्द गर्नुपर्ने र खनिज इन्धन प्रतिस्थापनमा जोड दिनुपर्ने उनले बताइन् ।

–नागरिक दैनिक (द गार्जियनमा प्रकाशित समाचारको अनुवाद)

ताजा समाचार

सम्बन्धित समाचार