Thursday, October 24, 2024

योजनामै सीमित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइटको विकल्पमा रहेको बन्चरेडाँडा ओझेलमा परेको छ ।

सिसडोलमा फोहोर अट्ने ठाउँको अभाव हुन थालेदेखि नै नुवाकोट र धादिङको सीमानामा रहेको बन्चरे डाँडामा फोहोर विसर्जनको तयारी सुरु भएको थियो । सिसडोलमा रहेको साइटमा पर्खाल लगाएर र खाल्डो सम्माएर फोहर व्यवस्थापनलाई अझ प्रभावकारी बनाएपछि बन्चरेडाँडाको चर्चा कम हुँदै गएको विश्लेषण गरिएको छ ।

२ वर्षका लागि भनेर छुट्याइएको सिसडोलमा १२ वर्ष देखि फोहोर विसर्जन गर्दै आइएको काठमाडौैं महानगरपालिकाले जनाएको छ । केही समय अघिको प्राविधिक रिर्पोटका अनुसार पनि त्यहाँ अब फोहोर थप्ने अवस्था नरहेको महानगरपालिकाले जनाएको थियो । तर, पछिल्लो समयमा स्वयं महानगरभित्रकै कर्मचारी सिसडोलमा अझै १ वर्ष फोहोर धान्न सक्ने क्षमता अहिले बनाइएको बताउँन थालेका छन् ।

महानगरपालिकाका अनुसार काठमाडांैबाट दैनिक उत्पादन हुने १ हजार टन फोहोर यही अनुपातमा उत्पादन भइरहे अबको ५–६ महिना पछि सिसडोल भरिनेछ ।

‘काठमाडौंमा दैनिक १ हजार टन फोहोर उत्पादन हुन्छ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘काठमाडांै महानगरमा प्रतिदिन साढे ५ देखि साढे ६ टनसम्म फोहोर उठ्ने गर्छ ।’

सिसडोलको विषयलाई लिएर कहिले काँही समस्या हुँदा हप्ता दिनसम्म पनि उपत्यकाका चोकचोकमा फोहोर थुप्रने गर्छ । जसका कारण उपत्यकाबासी दुर्गन्ध सहन बाध्य भएका हुन्छन् । नुवाकोट र धादिङको सीमानामा रहेको बन्चरे डाँडामा फोहोर विसर्जनको तयारी सुरु भएको केही समय भएपनि खासै प्रगति नभएको महानगरकै कर्मचारी बताउछन् । ‘कामै नभएको पनि होइन तर खासै ठूलो काम पनि भएको छैन बन्चरे डाँडामा फोहोर विसर्जनका लागि,’ महानगरमा रहेर लामो समय वातावरण व्यवस्था विभाग हेरेका रवीनमान श्रेष्ठले भने, ‘बन्चरे डाडाँसम्म पुग्ने बाटो र पुलका लागि सामान्य काम मात्र भएका छन्,केही महिना यता खासै प्रगती छैन।’

सिसडोल ल्याण्डफिल्ड साइटमा धेरै फोहोर थुप्रिएर गाडीबाट अरु फोहोर लैजानै कठिन हुँदै गएको सामाजिक विकास विभागका निर्देशक समेत रहेका श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यदि पानी निरन्तर परेको खण्डमा त्यहाँ फोहोर लिएर गाडी जान सक्दैन । यसैगरी फोहोरको थुप्रोमा पहिरो जाने पनि समस्या हुनसक्छ ।

सिसडोलको विकल्पका रुपमा बन्चरे डाँडालाई लिइएपनि बन्चरेडाँडाको काम कछुवा गतिमा चलिरहेका र महानगरपालिकाले जनाएको छ ।

सिसडोलमा फोहर विसर्जन गर्ने स्थानीयको अवरोध र त्यहाँको फाहोर थुपार्ने स्थल साघुँीरदै जाँदा नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने तयारी केही वर्ष पहिले नै भएको थियो । अब बन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन तयारी अगाडि बढेको महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले केही समय अगाडि जानकारी दिएकी थिइन् ।

अबको केही समयमा नै महानगरले प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्य समेत गर्ने भएको छ । बन्चरे डाँडामा ३–४ महिनासम्म काठमाडांैको फोहोर थुपार्ने क्षमता रहेको महानगरका प्रवक्ता कार्की बताउँछन् । त्यहाँअहिले डाँडा सम्याउने र त्यहाँसम्म गाडी पुग्नका लागि पुल बनाउने काम भइरहेको छ ।

‘बन्चरे डाँडो र सिसडोलको दुरी करीब २ किलोमिटर छ । त्यसका लागि १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ,’ उनले भने, ‘प्राविधिक पक्ष बुझ्दै, निस्कने झोल फिल्टर गर्ने बारे अध्ययन भैरहेको छ । अब केही महिनामा यो निर्माण पुरा हुने लक्ष्य हुन्छ ।’

काठमाडांैका फोहोर फाल्ने सानो साइट टेकुमा रहेको छ । टेकुबाट ओखरपौवा सिसडोल ठूला ट्रकबाट लैजाने गरिन्छ । १५–१६ वटा ट्रकबाट फोहोर फाल्ने गरिन्छ । फोहोर व्यवस्थापनमा १ हजार जति जनशक्ति खटिएका छन् । जसमा ड्राइभर, हेल्पर स्वीपर, सुपरभाइजर, कर्मचारी, प्राविधिक आदि रहेको महानगरपालिकाले जनाएको छ । उनका अनुसार १ सयबाट गाडीबाट फोहोर संकलन हुन्छ । फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय भनेको कुहिने र नकुहिने फोहोरलाई छुट्याउने तथा नकुहिने फोहोरलाई पनि पुनः प्रयोग या पुनः प्रशोधन गर्न मिल्ने भनेर छुट्याए धेरै हदसम्म फोहोर व्यवस्थापन हुने विज्ञहरुले औल्याएका छन् ।

कुहिने फोहरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने र नकुहिने फोहरमात्र कामपाले व्यवस्थापन गर्ने छ ।

काठमाडौंमा ६६ प्रतिशत फोहोर प्रांगारिक र ४४ प्रतिशत फोहोर नकुहिने रहेको फोहोर व्यवस्थापनमा सहयोगी भूमिका खेल्ने संस्था डोको रिसाइकर्लसले जनाएको छ ।

फोहोर व्यवस्थापनको दीर्घकालिन समाधानको उपाय भनेको कुहिने र नकुहिनेको छुट्याएर केहीलाई पुनप्रयोग या पुनप्रशोधन गर्नु हो, रिसाइकर्लसका विजनेस प्रमुख एवं विद्युतीय फोहोर मैला व्यवस्थापक पंकज पंजीयारले भने, ‘कुहिनेलाई मल बनाएर आफ्नै करेसाबारीमा प्रयोग गर्न सकिन्छ करेसाबारी हुनेले बेच्न पनि सक्छन् ।’

ताजा समाचार

सम्बन्धित समाचार