Monday, October 28, 2024

अष्ट्रेलियाको डढेलोमा मारिने र विस्थापित वन्यजन्तुको संख्या ३ अर्ब

काठमाडौ, असार १३ (हाकाहाकी)– अस्ट्रेलियाको गत वर्षको डढेलोमा परेर झण्डै ३ अर्ब जीवजन्तु मारिएका र विस्थापित भएका एक अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएको उल्लेख छ ।

डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको एएफपी समाचार संस्थाले जनाएको छ ।

सन् २०१९ को अन्त्य तथा सन् २०२० को शुरुआती महिनामा अस्ट्रेलियाका जंगलहरुमा लामो सुख्खाका कारण भिषण आगलागी भएको थियो ।

आगलागीबाट करिब एक लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र ध्वस्त भएको थियो । डढेलोका कारण ३० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै जंगल आसपासका हजारौं घर डढेका थिए ।

अस्ट्रेलियाको आधुनिक इतिहासमै यति लामो र व्यापक डढेलो पहिलो पटक देखिएको थियो । वैज्ञानिकहरुले जलवायू परिवर्तनको असरका कारण सुख्खा र डढेलोको समस्या देखिएको बताउँदै आएका छन् ।

जनवरीमा सार्वजनिक गरिएको अर्को एक अध्ययनमा सर्वाधिक प्रभाव परेका पूर्वी राज्यहरु न्यू साउथ वेल्स र भिक्टोरियामा एक अर्ब हाराहारीमा जीवजन्तु मरेको उल्लेख थियो ।

तर आज सार्वजनिक सर्भे प्रतिवेदनमा सिंगो अस्ट्रेलिया महादेशको अवस्था विश्लेषण गरिएको सिड्नी विश्वविद्यालयका मुख्य वैज्ञानिक लिली भान एडेनले बताउनुभएको समाचारमा उल्लेख छ । प्रतिवेदनको अन्तिम नतिजा अर्को महिनाको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार