Monday, October 28, 2024

पहिरोमा परेर ४ को मृत्यु, २ बेपत्ता

काठमाडौ, साउन १३ (हाकाहाकी)– देशका विभिन्न स्थानमा गएको पहिरोमा परेर चार जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।

पहिरामा परी बाग्लुङमा चारजनाको मृत्यु भएको छ भने दार्चुलामा २ जना बेपत्ता भएका छन् । बाग्लुङमा गएको पहिरोले तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिँदा उहाका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको छ ।

पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । उनलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइहेको छ ।

त्यस्तै, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरिदा करिब पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिनुभएको छ । निसीखोला गाउँपालिकामा नै करिब ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उहाँको पहिचान नखुलेको पनि प्रहरीले जनाएको छ ।

यसैगरी दार्चुलाको दुहुँ गाउँपालिका सल्लीखेतमा पहिराले घर पुर्दा दुई जना बेपत्ता भएका छन् । मंगलबार बिहान घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिनुभएको छ ।

पहिरो आउँदा घर भित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उहाकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशी घर भित्रै पुरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली उद्धारका लागि घटनास्थलतर्फ हिडेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार