Monday, October 28, 2024

कोरोनाबाट थप २ को मृत्यु, मृतक संख्या ४७ पुग्यो

काठमाडौ, साउन १२ (हाकाहाकी)– कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । पर्सा र धनुषामा मृत्यु भएका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

यी दुई जना सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पर्सा वीरगञ्जका ६५ वर्षीय र धनुषाका ३८ वर्षीय पुरुषको मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

वीरगञ्जको आदर्शनगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो राति सम्मको रिपोर्टमा संक्रमण देखिएका धेरैजसो स्वास्थ्यकर्मी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो । यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालले उहाँलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो । तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार