काठमाडौ, साउन ११ (हाकाहाकी)– कोरोना भाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ ।
पछिल्लो मृत्यु समेत अहिलेसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १ सय ५५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा भिक्टोरिया राज्यमा ४ सय ५० जना नयाँ संक्रमित भेटिएका छन् ।
भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका दश जनाको मृत्यु भएको जानकारी दिनुभएको एएफपी समाचार संस्थाले जनाएको छ । तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण सात जनाको मृत्यु भएको हो । अस्ट्रेलियामा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या करिब १४ हजार छ । सरकारले मेलबर्नमा गरेको लकडाउन दोस्रो साता पुगिसकेको छ, तर संक्रमितको संख्या अझ बढेको छ ।