Monday, October 28, 2024

भियतनाममा मासु प्रयोजनका लागि वन्यजन्तुको आयातमा प्रतिबन्ध

काठमाडौ, साउन ११ (हाकाहाकी)– भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन्। बिहीबार प्रधानमन्त्री नुग्येन जुआन फुकले हस्ताक्षर गरेको आदेशमा मृत वा जीवित कुनै पनि वन्यजन्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको जनाइएको छ।

प्रतिबन्धमा पंक्षीका फुल र लार्भासमेत समावेश हुनेछन् । यदि आदेशको उल्लङ्घन गरेको भेटिएमा वन्यजन्तु व्यापारमा सम्लग्नलाई अपराध कानून बमोजिम कडा सजाय हुने बताइएको अन्तराष्टिय समाचार संस्थाले जनाएको छ । भियतनाम वन्यजन्तु उत्पादनका लागि लोकप्रिय गन्तव्य हो ।

प्रायजसो लोपोन्मुख प्रजातिहरूको परम्परागत चिकित्सा वा विदेशी खाना तयार गर्नका लागि भियतनामले वन्यजन्तुको ठूलो मात्रामा आयात गर्ने गरेको छ । विश्वले कोभिड–१९ विरूद्धको लडाई लडिरहेका समय जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोग नियन्त्रणका लागि यो कदम लिइएको अधिकारीहरूले बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार