Monday, October 28, 2024

भारत पिथौरागढस्थित धौलीगंगाको बाँध खोलिदै, सतर्क रहन सर्वसाधारणलाई आग्रह

काठमाडौ, साउन ८ (हाकाहाकी)– भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।

यो बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह बढने भएकोले सतर्क रहन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले जानकारी दिनुभएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी पौने ७ बजेसम्म खोलिन लागेको पावरस्टेसनको पत्र प्राप्त भएको कुवरले बताउनुभयो ।

बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्याँस गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ । यस्तै दार्चुला र बैतडीका साथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

उता, परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । विसं २०७० मा धौलीगंगाको कै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार