Monday, October 28, 2024

मेलम्चीमा नटबोल्ट खुस्केर दूर्घटनाः छानविन समिति

काठमाडौ, साउन ८ (हाकाहाकी)– मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउँदा १७ नम्बरको गेटको नटबोल्ट खुस्केर दुर्घटना भएको छानविन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

दुर्घटनापछि खानेपानी तथा सरसफाई मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा गठन गरेको छानबिन समितिले यस्तो निष्कर्ष निकालेको हो ।

विस्तृत अध्ययन गर्न बाँकी भएतापनि खास कारण उल्लेख गर्न केही समय लाग्ने बताउँदै नटबोल्टले अड्याइएको गेटमा पानीको प्रेसरले नटबोल्ट खुस्किंदा गेट खुलेर पानी बाहिर आएको प्रारम्भीक अध्ययनका क्रममा देखिएको खानेपानी मन्त्रालयका सचिव माधव वेलवासले जानकारी दिनुभयो ।

इन्जिनियरको टोली पानीको प्रेसर नाप्न जाने क्रममा गेट खुलेर पानी बाहिर निस्कँदा उनीहरुलाई बगाएको पनि उहाँले जानकारी दिनुभयो । निर्माणका क्रममा के मा कमजोरी भएको हो सो भने अध्ययन प्रतिवेदनपछि बाहिर आउने उहाँले बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनामा पानी परीक्षणका लागि सुरुङमा पठाएको एक हप्तापछि सुरुङको १७ नम्बरको गेट खुल्दा चार जना कर्मचारीलाई बाढीले बगाएको थियो । दुई जनाको उद्धार भएको थियो भने दुईलाई बाढीले बगाएको थियो । बगाएका दुईमध्ये एकजनाको शव भेटएको छ भने एकजना अझै बेपत्ता छन् ।

ताजा समाचार

सम्बन्धित समाचार