Monday, October 28, 2024

अष्ट्रेलियाको भिक्टोरियामा २४ घण्टामा ४८४ जनामा कोरोना पुष्टि

काठमाडौ, साउन ७ (हाकाहाकी)– अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गत २४ घण्टाको अवधिमा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला परेका छन्।

यो संख्या कोरोना संक्रमण शुरू भएपछि भिक्टोरिया राज्यमा एकै दिनमा भेटिएको सबैभन्दा उच्च सङ्ख्या हो । सो राज्यमा हिजो कोरोना संक्रमित हुनेको सङ्ख्या ३ सय ७४ रहेको थियो। त्यसैगरी आजै दुईजना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले आज पत्रकार सम्मेलनमार्फत् यो सङ्ख्याको पुष्टि गर्नुभएको हो । बुधबार भेटिएका संक्रमितहरूमध्ये ९७ जनाको कोरोना श्रोत पत्ता लागिसकेको तथा ३ सय ८७ जनाको श्रोतको खोजि भइरहेको पनि प्रिमियर एन्ड्रूजले पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रिमियर एन्ड्रूजले गत जुलाई ७ देखि २१ तारिखको अवधिमा भेटिएका ३ हजार ८ सय १० मध्ये करिब ९० प्रतिशतले सङ्क्रमणको पहिलो लक्षण देखिएपछि जाँच गरूञ्जेलसम्म आइसोलेसनमा नबसेका कारण यो सङ्ख्या वृद्धि भएको कुरा पनि उल्लेख गर्नुभयो । यसैगरी अस्ट्रेलियाको न्यूसाउथवेल्स सरकारले आगामी केही हफ्ता कोरोना नियन्त्रण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने हुँदा राज्यका वासिन्दालाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

गत २४ घण्टामा १६ वटा नयाँ कोरोना केस थपिएपछि राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिन्ले आज मिडियासँगको कुराकानीका क्रममा यस्तो बिचार ब्यक्त गर्नुभएको हो । न्यूसाउथवेल्स राज्यका प्रमुख मेडिकल अफिसर डा. केरी चान्टले सबै समुदाय ‘हाइ अलर्ट’ मा रहँदै जोखिमपूर्ण गतिविधि र यात्रा गर्दा शतर्क हुनुपर्ने बताउनुभयो ।

यसैबीच न्यूसाउथवेल्स प्रहरीले नयाँ सीमा प्रतिबन्धका कारण ‘परमिट होल्डर’ लाई मात्र भिक्टोरिया राज्यबाट न्यूसाउथवेल्स आउने अनुमति दिइने जनाएको छ । यसअघि जारी गरिएका सबै ‘परमिट’ हरू रद्द भइसकेको जानकारी दिँदै न्यूसाउथवेल्स प्रहरीले नयाँ ‘परमिट’का लागि पुनः आवेदन दिनुपर्ने बताएको छ ।

नयाँ लागू गरिएको सीमा प्रतिबन्धको अवज्ञा गरेमा १ हजारदेखि ११ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना हुने अथवा ६ महिनासम्म जेल सजाय हुने व्यवस्था रहेको पनि प्रहरीले उल्लेख गरेको छ । यसैबिच भिक्टोरिया राज्यको मेलबर्न महानगर तथा मिचेलसायर क्षेत्रमा आज मध्यरातदेखि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । त्यस इलाकाहरूमा मास्क अथवा स्काफ वा अन्य कपडाले मुख छोपेर मात्र घरबाहिर निस्कन पाइनेछ। यो नियम १२ वर्षभन्दा माथिका सबै मानिसले पालना गर्नुपर्नेछ ।

सो नियमको उल्लङ्घन गरेको पाइएमा तत्कालै दुई सय अस्ट्रेलियन डलरसम्म जरिवाना गर्न सकिने नियम रहेको राज्य सरकारले जनाएको छ । मेलबर्नमा हाल जारी लकडाउनले गर्दा मेलबर्नवासीहरू केवल खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्छन्।

अस्ट्रेलियामा हालसम्म १२ हजार २ सय ६७ कोरोना संक्रमित फेला परेको सरकारी तथ्याङ्क छ । तीमध्ये ६ हजार २ सय ८९ भिक्टोरियामा, ३ हजार ४ सय १० न्यूसाउथवेल्समा, १ हजार ७२ क्वीन्सल्याण्डमा, ४ सय ४४ दक्षिण अस्ट्रेलियामा, ६ सय ५१ पश्चिम अस्ट्रेलियामा, २ सय २७ तास्मेनियामा, १ सय १३ क्यानबेरामा तथा ३२ जना नर्दन टेरिटोरीमा भेटिएका छन् । साथै तीमध्ये १ सय २८ जनाको मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार