Monday, October 28, 2024

बाढी पहिरोमा परेर मंगलबार ७ जनाको मृत्यु

काठमाडौं, साउन ६ (हाकाहाकी)– सोमबार रातीदेखीको नियमित बर्षा पछिको बाढी र पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ । काठमाडौमा २ जना, धादिङमा ३ जना र दार्चुलामा २ जनाको मृत्यु भएको हो ।

काठमाडौं टोखा नगरपालिका १ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बाल बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान गएको पहिरोले पुरिएर स्थानीय ३÷३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक डीएसपी रोशन खड्काले जानकारी दिनुभयो ।

उहाँले मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको बताउनुभयो ।

यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । माथिबाट आएको पहिरोले घर बगाउँदा गएराती २२ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

यसैगरी दार्चुलामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर घाइते हुनु भएकी लक्ष्मी परियारको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लक्ष्मीका छोरा सुभम बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेपछि उनीहरुले घटनाका बारेमा प्रहरीले जनाकारी पाएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमबहादुर बिष्टले जानकारी दिनु भयो ।

घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ। ।उहाँको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

यता चार दिन देखिको लगातार वर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासिको बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरिँदा दुई जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० वर्षीय शेरबहादुर सार्की र उहाकी श्रीमतीलाई बगाएको र घर समेत पुरेको प्रहरीले जानकारी दिएको छ ।

राति करीब ३ बजे तिर घर माथिबाट ठूलो पहिरो आएर दुवैजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार