Monday, October 28, 2024

सिद्धार्थ राजमार्ग खुल्यो, अन्य राजमार्गहरुमा अवरोध यथावत

काठमाडौ, साउन ५ (हाकाहाकी)– पहिरोबाट अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि खुलेको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै हिजो राति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो हटाएपछि साढे ११ बजेदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । त्यस स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो ।

शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो ।

यसै गरी , पृथ्वी राजमार्ग अन्तर्गतको गजुरी खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको पहिरोले गजुरी गाउँपालिकाको भवनमा समेत क्षति भएको छ।

पहिरोका कारण ३ किलोमिटर जति बाटो अवरुद्ध छ । केही दिनदेखि भइरहेको वर्षाले देशभर बाढी र पहिरो गइरहेको छ।पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकको चार किलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

आयोजनाले एक सूचना जारी गर्दै आजका लागि बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार