Monday, October 28, 2024

समुदायस्तरको कोरोना पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गर्ने

काठमाडौ, साउन ५ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा फैलिएको छ/छैन भनेर अध्ययन गर्ने तयारी गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ बाट प्रभावित सर्वसाधारणबारे यकिन गर्न गरिने ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गर्न थालेको हो ।

महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । कोभिड– १९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । महाशाखाले यसअघि उपत्यकामा कोरोना संक्रमण समुदायसम्म पुगेको छ÷छैन भनेर ५ हजार जनामा पिसिआर परीक्षण गरेको थियो ।

पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ ले पहिले मानिसमा देखिएका कोभिड– १९ को भाइरस पनि थाहा पाइने हुन्छ । ‘सेरो सर्वेक्षण’ ले कोभिड– १९ को संक्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ ।

सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीबारे थाहा हुनेछ । नेपालका कोरोना संक्रमितमध्ये ९७ प्रतिशत बिरामीमा लक्षणका देखिएका छैनन ।

‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका संक्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले बताउनुभयो । कोभिड– १९ को भाइरसको सङक्रमणको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न गर्दछ । सेरो सर्भेलेन्सबाट कोभिड– १९ को संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको थाहा हुनेछ । नेपालमा अहिलेसम्म तीन लाख १५ हजार ५ सय ७० जनाको पिसिआर परीक्षण गर्दा १७ हजार ६५८ जनामा संक्रमण देखिएको छ । यस्तै ११ हजार ६ सय ९५ जना संक्रमणबाट मुक्त भइसकेका छन् भने ४० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार