Monday, October 28, 2024

चीनमा सिनेमा घरहरु खुल्ने भए

काठमाडौ, साउन ५ (हाकाहाकी)– चीनमा बन्द रहेका सिनेमा घरहरू फेरि खुला गर्न लागिएको छ ।

सोमबारदेखि ‘कम जोखिम भएका’ स्थानहरूमा सिनेमाघर खोल्न सकिने चिनियाँ चलचित्र प्रशासनले बताएको छ ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ ।

जनवरीमा सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन् । खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ ।

दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ ।

चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ । नयाँ सुरक्षा नियमहरूमा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न नपाइने पनि रहेको बि.बि.सि को खबरमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार