Tuesday, October 29, 2024

पहिरोले नारायणगढ–मुग्लिन खण्ड र सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौ, साउन ५ (हाकाहाकी)– पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकको चार किलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

आयोजनाले एक सूचना जारी गर्दै आजका लागि बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ ।

यसैबिच सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सञ्चालन भएको तीन घण्टामै फेरी अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि हिजो साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए ।

तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो । आज बिहानबाट पहिरो पन्छाउने काम शुरु हुने डीएसपी गिरीले बताउनुभएको छ ।

शुक्रबार रातिदेखि रोकिएका सबै साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान नपाउँदै पुनः सडक अवरुद्ध भएपछि सवारी साधनहरु फेरि सडकमै अलपत्र परेका छन् । शुक्रबार खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार