Tuesday, October 29, 2024

अरनिको राजमार्ग खुल्न समय लाग्ने, राजमार्गहरु अवरुद्ध हुनेक्रम जारी

काठमाडौ, साउन ४ (हाकाहाकी)– अरनिको राजमार्ग अन्तर्गत खुर्सानीबारी, खग्दाल र सिरिसे सडकखण्ड खुलाउन समय लाग्ने भएको छ ।

भोटेकोशी खोलाले धार परिवर्तन गरेका कारण यी सडकखण्ड खुलाउन समय लाग्ने सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । यी सडकखण्डको ठाउँठाउँमा सडक भासिनुका साथै भोटेकोशी खोलाले धार परिवर्तन गरेकाले खुलाउन समय लाग्ने उहाँको भनाई छ ।

यो सडकखण्ड भएर यात्रा गर्नेलाई अहिले वैकल्पिक सडक अन्तर्गत ग्रामिण सडक प्रयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । शिरिसे र खुर्सानीबारी सडकखण्ड ९ दिनदेखि अवरुद्ध भएका हुन् भने लामोसाँघु सडकखण्ड ४ दिनदेखि अवरुद्ध छ ।
यसैगरी सिद्धार्थ राजमार्गमा पर्ने तानसेन–८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो खसेपछि अवरुद्ध सडक खुल्न केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउने काम तीव्र रुपमा भए पनि माथिबाट पहिरो खस्न नरोकिएकाले वैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रह गरेको छ ।

सडकको ‘बेस’लाई नै पहिरोले बगाएकाले पूर्ण रुपमा पहिरो हटाइ बाटो सञ्चालन हुन केही दिन लाग्ने प्रहरीको भनाइ छ । गौडेपुलमा गएको पहिरो हटाउने काम भैरहेको बेला आइतबार बिहान फेरि दोभान बजार नजिक पैठेडाँडामा ठूला ढुङ्गा सहितको पहिरो झरेको प्रहरीले जनाएको छ । यस्तै अछामको साँफेबगर–मार्तडी सडक एक हप्तादेखि सञ्चालनमा आएको छैन । यो सडकखण्ड सञ्चालनमा आउन पनि समय लाग्ने सडक विभागले जनाएको छ ।यस्तै काठमाण्डौ सिस्नेरी हुँदै हेटौँडा जाने सडकखण्ड र काठमाण्डौ फाखेल हुँदै हेटौँडा जाने सडकखण्ड खुलाउने प्रयास भइरहे पनि पानी पर्ने क्रम नरोकिएकाले सञ्चालनमा आउन सकेको छैन । कान्ति लोकपथ पनि अवरुद्ध भएको छ ।

असार २० गतेदेखि अवरुद्ध भएको यो सडकखण्ड बीचमा केही दिन सञ्चालनमा आए पनि फेरि अवरुद्ध भएको हो । ठाउँठाउँमा पहिरो गएकाले यो सडकखण्ड सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । चन्द्रनिगाहापुर गौर सडकखण्ड पनि खवरुद्ध भएको छ । यस्तै पहिरोका कारण बेनी जोमसोम कोरला सडकखण्ड पनि असार २७ देखि अवरुद्ध भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार