Tuesday, October 29, 2024

कोरोना संक्रमितको संख्या घट्नेक्रम जारी, शुक्रबार १०१ जनामा संक्रमण

काठमाडौ, साउन २ (हाकाहाकी)– केही दिन यता कोरोना संक्रमितको संख्या घटिरहेको छ । शुक्रबार १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा कोरोना पुष्टि भएकाको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । यसमध्ये ११ हजार ५ सय ३४ जना संक्रमित भाइरसमुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा घर फर्किनेको संख्या २ सय ८५ छ । अहिलेसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।

उहाँका अनुसार अहिले ५ हजार ८ सय ७१ जना आइसोलेशनमा छन् । गत असार १९ गते सबैभन्दा धेरै ७ सय ४० जनामा कोरोना पुष्टि भएको थियो । यसयता दैनिक संक्रमितको संख्या घटिरहेको छ । बिहीबार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म सरकारले ३ लाख ८ हजार ४ सय ९८ जनाको पीसीआर परीक्षण गरिसकेको छ । र, २२ हजार ७ सय ५६ जना क्यारिन्टाइनमा छन् । प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार