काठमाडौ, साउन १ (हाकाहाकी)– आफ्ना माग कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका हुन ।
यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा लगायतका सिकाइका क्रियाकलाप पूर्णरूपमा बन्द भएका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन.प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।
यी दुई संस्थाले मासिक शिक्षण शुल्क, अनलाइन शुल्क लगायतका विषयमा सरकारले कुनै निर्णय नलिएकाले बाध्य भएर अनलाइन कक्षा बन्द गर्नु परेको जनाएका छन् ।
एनप्याब्सनका अध्यक्ष सापकोटाले तीन महिनाको अवधिमा पनि मन्त्रालयले आफूहरूका समस्या समाधानमा ध्यान नदिएपछि विरोधस्वरूप अनलाइन कक्षा बन्द गरिएको बताउनुभएको छ । यसबीचमा आफूहरूले अभिभावकबाट अनलाइन कक्षाको कुनै शुल्क नलिएको जानकारी निजी विद्यालयका सञ्चालकले जानकारी दिएका छन् ।





