भोटेकोशीमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटियो

काठमाडौ, साउन १ (हाकाहाकी)– सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पिङ कट्टीमा गएको पहिरोमा बेपत्ता पाँचजना मध्ये एक जनाको शव भेटिएको छ ।

४९ वर्षीया निमा स्याल्बो शेर्पाको शव भेटिएको नेपाल प्रहरीका ३ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाले जानकारी दिनुभयो । उहाँले पहिरोले दुईवटा घर पुरिएका बताउनु भयो ।

ऋाज बिहान साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उहाँकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिनु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनु भयो ।

यसै गरी घरमाथिबाट खसेको पहिरोले दुईवटा घर तथा स्थानीय विद्यालयमा क्षति गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभएको छ ।

बेपत्ता हुनेमा याङ्जी शेर्पा वर्ष १६, फिरिङ्वाङ्मु शेर्पा वर्ष १४, चुङ्बुटी शेर्पा वर्ष ७५, साङ्बु शेर्पा वर्ष ३५ र सेमसाङ्ग शेर्पा रहेको अध्यक्ष पौडेलले बताउनुभएको छ । यस्तै गरी नोर्साङ्ग शेर्पाको घरमा पनि पहिरोले पूर्ण क्षति गरेको छ । यसैगरी पञ्चकन्या आधारभूत विद्यालयको भवनमा पनि आंशिक क्षति भएको छ ।

बेपत्ताको खोजीका लागि स्थानीय युवा साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएकोे अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

यता मेलम्चीको पानीले बगाएका चालक खोज्न सिन्धुपाल्चोकमा गएको गोताखोर टोलीको डुंगा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् । घाईतेको अबस्था सामान्य रहेको . प्रदेश ३ का प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाले जानकारी दिनु भयो ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बिहीबार पनि बाढी आएको छ । भोटेकोसी र सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै बलेफी नदीमा पनि बाढी आएको छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने अनुमान छ । त्यस्तै आज कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्तीका केही साना सहायक नदीमा आकश्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ । यी नदीमा ठूलो बाढीको जोखिम नरहेको तर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहदै काम गर्न महाशाखाले आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार