काठमाडौ असार ३१ (हाकाहाकी)– लकडाउनका कारण बन्द भएका साझा यातायातका बसहरुले बिहीबारबाट सेवा सुचारु गर्ने भएका छन् ।
साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिनुभयो । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उहाँले बताउनुभयो । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् ।
साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ । सरकारले तोकेका सबै मापदण्ड पालना गरेर बस सञ्चालन हुने पाण्डेयको भनाइ छ ।
यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ । सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् ।
यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् । काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।





