विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नजिक

काठमाडौ, असार ३१ (हाकाहाकी)– विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु हुनेहरुको संख्या ५ लाख ८१ हजारभन्दा बढी भएको छ । कुल संक्रमितको संख्या पनि दिनप्रतिदिन बढेर १ करोड ३४ लाख ७१ हजार ८ सय ६२ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितमध्ये ७८ लाख ६६ हजार २ सय ६५ जना भने संक्रमणमुक्त भइसकेका छन् । विश्वभरी सक्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् ।

कोरोनाका कारण मानवीय क्षति र संक्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १ सय ४५ रहेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार संक्रमित हुँदा ७४ हजार २ सय ६२ जनाको मृत्यु भएको छ ।

भारत तेस्रो धेरै संक्रमितको सूचीमा पर्दछ भने चौथो धेरै संक्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजारभन्दा बढी संक्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७ सय ७० पुगेको जानकारी दिएका छन् ।

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै संक्रमितहरु रहेका छन् । कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरीको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार