
काठमाडौ, असार ३१ (हाकाहाकी)— नेपाल वातावरण पत्रकार समुह र एभिन्यूज नेटवर्क प्रालिबीच राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उत्पादन गरिएका वृत्तचित्रको प्रवद्र्धनका सहकार्य गर्ने उद्देश्यले बुधबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्मा र एभिन्यूज नेटवर्क प्रालिकी कार्यकारी निर्देशक समृद्धि राजकर्णिकारबीच एभिन्यूज नेटवर्कको १३ औं बार्षिकउत्सवका अवसरमा उक्त समझदारी भएको हो ।

समझदारी पत्र अनुसार समुहले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा उत्पादन भएका वृत्तचित्रहरु नेटवर्कलाई उपलब्ध गराउने र नेटवर्कले ती सामग्रीहरु प्रवद्र्धन तथा प्रसारण गर्नेछ ।
यसरी उपबध गराइएको वृत्तचित्रहरु साउन १ गतेदेखि साँझ ४ः२५ बजे हरेक दिन एभिन्यूज टेलिभिजनबाट प्रसारण हुनेछन् । सुरुमा समूहले टिभी नेपालबाट प्राप्त ५० भागको ‘ग्लोबल फ्यामिलिज सिरिज्҆ क्रमशः एभिन्यूज टेलिभिजनलाई उपलब्ध गराउँदै जानेछ ।
विभिन्न मुद्दाहरु तथा बिषयवस्तुलाई समेटेर तयार पारिएका वृत्तचित्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले यो समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । यस अवसरमा दुई पक्षबीच भविष्यमा अन्तराष्ट्रिय स्तरको वातावरण फिल्म महोत्सव गर्न सकिने संभावनाबारे पनि छलफल भएको थियो ।
नेपाल वातावरण पत्रकार समूहले उत्पादन गर्दै आएका ‘आँखिझ्याल҆ वृत्तचित्र र पाँच मिनेटको ‘नयाँ पुस्ता҆ कार्यक्रम एभिन्यूज नेटवर्कले सातामा क्रमशः एक र तीन पटक प्रसारण गर्दै आएको छ ।
यस अवसरमा समूहका अध्यक्ष विश्वकर्माले नियमित सहयोग र सहकार्यका लागि एभिन्यूज नेटवर्क व्यवस्थापनलाई धन्यवाद दिदै आगामी दिनमा अन्तराष्ट्रियस्तरका फिल्म महोत्सव आयोजनाका लागि दुवै संस्थाले सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।





