काठमाडौ, असार ३१ (हाकाहाकी)— कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ ।
घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् ।
काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताउनुभयो । सो सर्प अन्दाजी १० फिट लामो रहेको छ ।
सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताउनुभयो । यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन् । किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ ।





