काठमाडौ, असार ३१ (हाकाहाकी)– विदेशी विद्यार्थीलाई सम्बन्धित देश फिर्ता पठाउन गर्ने डिपोर्ट योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम हालै ल्याएको थियो ।
त्यसको चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन त्यसबाट पछि हट्न बाध्य भएको हो। सरकारको सो निर्णय विरुद्ध हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी (एमआइटी) ले अदालतमा मुद्दा दायर गरेका थिए ।
कोरोना भाइरसको महामारीका कारण कक्षा अनलाइनमा गएका विश्वविद्यालय तथा शैक्षिक संस्थाका विदेशी विद्यार्थीहरुले आफ्नै देशमा फर्किनु पर्ने नियम घोषणा गरेको एक हप्तामै ट्रम्प प्रशासनले यो फिर्ता लिएको हो ।
हार्वर्ड र एमआइटीले दायर गरेको मुद्दा पनि सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताउनुभयो ।
सहमति अनुसार गएको मार्चमै लागु भएको नियम कार्यान्वयनमा हुनेछ । जस अनुसार विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने द न्यूयोर्क टाइम्सले जनाएको छ ।





