काठमाडौ, असार ३० (हाकाहाकी)— यूएईले कोरोनाको कारण यसअघि लागू गरेको भिसा सम्बन्धी नियम खारेज गर्दै नयाँ निमय लागू गरेको छ ।
यूएईले कोरोनाको कारण यसअघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधि बढाउने भनिएको नियम खारेज गरेको बिबिसीको खबरमा उल्लेख छ ।
नयाँ नियम अनुसार मार्च र अप्रिल महिनामा भिसा अवधि सकिएकाहरुले जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्ने यूएईले जनाएको छ ।
जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ ।
यस्तैगरी जुन १ देखि जुलाई ११ सम्ममा भिसा अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनुपर्ने र जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।
बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर उल्लेख गरीएको छ ।
यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ । यूएईले जारी गरेको भिसा सम्बन्धी नयाँ नियम जुलाई १२ आइतबारदेखि लागू भएको छ ।





