सलहको झुण्ड दाङ प्यूठान हुदै रोल्पातर्फ उडे

काठमाडौ, असार ३० (हाकाहाकी)— दाङ हुँदै नेपाल भित्रिएको सलहको एउटा ठूलो झुण्ड प्युठानबाट रोल्पातर्फ उडेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाउको छ।

सलह रोल्पातर्फ उडेको सूचना आएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना केन्द्र प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनु भयो ।

आइतबार दाङबाट प्रवेश गरेको सलह प्युठान पुगेको र सोमबार दिउँसो त्यहाँबाट उडेर रोल्पातर्फ लागेको बताउनु भयो । उहाँले नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्रमा करीब ७५हजारको संख्यामा सलह देखिएको बताउनु भयो ।

असार १३ देखि १६ सम्म नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय हुन थालेको छ । छरिएर रहेका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोटलगायतका एक दर्जन जिल्लाहरुमा उपस्थित रहेको केन्द्र प्रमुख सुवेदीले बताउनु भयो । केन्द्रले भोली सम्म अरु सलह पनि नेपाल आउन सक्ने बताएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज सुदूर पश्चिममा दक्षिण पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहेको छ । असार ३१ गतेदेखि दक्षिण पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने प्रक्षेपण गरिएको छ ।

भारतको सीमावर्ती क्षेत्रमा छरिएका सलह केही संख्यामा अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रबाट प्रवेश गर्ने अनुमान गरिएको छ । जुनसुकै बेला सलह प्रवेश गर्न सक्ने भन्दै केन्द्रले तराइ क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन अनुरोध छ ।

मुलुकभित्र सक्रिय रहेका सलह वायुको सहारामा उत्तर पश्चिमतर्फ जान सक्ने सम्भावना पनि रहेको छ । भारतको लखनउ आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपाल पनि नेपाल प्रवेश गर्न सक्ने केन्द्रले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार