काठमाडौ, असार ३० (हाकाहाकी)— निजी अस्पतालले स्वीकृति नलिई कोरोना भाइरस (कोभिड(१९)को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ ।
मन्त्रालयले उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पतालका साथै जोरपाटीको नेपाल मेडिकल कलेजले स्वीकृति नलिई कोरोना भाइरस (कोभिड(१९)को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न लागेको जनाएको छ ।
ती अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग बढी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।
यस्का लाग िमन्त्रालयले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको छ
स्वास्थ्य मन्त्रालयले उपत्याको वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो । केही दिन अघि सानेपास्थित स्टार अस्पता र सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजले आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाईसकेका छन् ।
सरकारले अनुमति दिएका यी अस्पतालले ५ हजार ५०० मात्र शुल्क लिन पाउनेछन् । छानबिन गर्न लागिएका अस्पतालले भने ५ हजारभन्दा बढी शुल्क उठाएको आरोप छ ।





